तीन दिन हिँडेर बागलुङको बरेङ गाउँपालिकाबाट कैयौं पटक बुटवल पुगेका बरेङ गाउँपालिका–२ का केशरबहादुर बर्मा अहिले गाउँमै बुटवलबाट जीप आउँदा दङ्ग पर्छन् ।
२०६३ सालतिर बरेङमा पहिलो पटक सवारी आएको बर्माको स्मरणमा छ । तीन दिन हिँडेर पुग्ने बुटवल अहिले आधा दिनमै पुग्न सकिने भन्दै उनले सडक सञ्जालका कारण बरेङको जनजीवनले मुहारै फेरेको बताए ।
‘प्रशासनिक काम गर्न मात्रै बागलुङ बजार जान्छौं, अन्य कामका लागि सदरमुकाम बागलुङ बजार पुग्ने समयमा बुटवल पुगिन्छ,’ बर्माले भने, ‘यहाँका अधिकांशको बसाइँसराइसमेत उतै हुन्छ, अहिले दैनिक तीनओटा जीप बरेङ आउँछन् ।’
शान्तिपुरसम्म बाटो पक्की छ । त्यहाँबाट बुटवलसम्म बससमेत चल्ने गरेका छन् । सडकका कारण दुर्गम मानिएको बरेङ गाउँपालिका विस्तारै सुगम बन्दै गएको छ । बर्माले सडकका कारण ७५ वर्षको उमेरमा भए पनि यहाँको विकास हेर्न पाइएको बताए । सडक सञ्जालका कारण बरेङ क्षेत्रमा बाक्ला घरसमेत निर्माण भइरहेका छन् ।
बरेङबाट बागलुङ जिल्ला सदरमुकाम आउन झण्डै पाँच घण्टा लाग्छ भने सोही समयमा बरेङबाट बुटवल पुग्न सकिने स्थानीय होमबहादुर थापाले बताए । उनका अनुसार सडकको सहज पहुँचका कारण गाउँमै शहरको सेवा सुविधा उपभोग गर्न पाइएको छ । गुल्मीको शान्तिपुरबाट बरेङ आउन निकै सहज भएको भन्दै उनले अब सडक कालोपत्र गर्न सके झनै सुविधा हुने बताए ।
बागलुङ सदरमुकामबाट बरेङ पुग्ने सबै सडक कच्ची भएकाले बरेङका बासिन्दालाई जिल्ला सदरमुकाम पुग्न भन्दा बुटवल पुग्न सहज हुने उनको भनाइ छ ।
‘१० वर्ष अघिसम्म बुटवल हुँदै भारी बोकेर सामान गाउँमा ल्याइन्थ्यो, अहिले गाउँगाउँमा सडक पुगेका छन्, बुटवलबाट चार पाँच घण्टामै जीप बरेङ आइपुग्छ,’ उनले भने, ‘बागलुङको दुर्गम गाउँपालिका मानिने बरेङ सडक सञ्जालका कारण सुगम बन्दै गएको छ भने विकास निर्माणले गति लिएको छ ।’
थापाका अनुसार बरेङमा सडकको पहुँचसँगै खानेपानीको समेत व्यवस्थापन हुँदा अहिले गाउँमै विकासको अनुभव भएको छ । बरेङ गाउँपालिकाको केन्द्रमा बजार विस्तार भइरहेको छ ।
बरेङ बजार सुधारका लागि समेत पालिकाले वर्षेनि बजेट खर्च गर्दै आएको बरेङ गाउँपालिकाले बताएको छ । बरेङमा जिल्ला सदरमुकाम बागलुङ बजारबाट भन्दा बुटवल र पाल्पाबाट धेरै सवारीसाधन आउने गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।
‘बरेङमा सडकले सेवा सुविधा थपिएको छ, बसाइँसराइ रोकिएको त छैन, तर यहाँका मानिसले दैलोमै सेवा सुविधा पाएका छन्, पालिकाले धेरै सडक सुधार गर्दै आएको छ, हामीले शान्तिपुरदेखि बरेङसम्म सडक कालोपत्र गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘बरेङ गाउँपालिका जिल्ला सदरमुकामबाट टाढा र दुर्गम भए पनि सेवा सुविधाका लागि बुटवलको सिधा यातायातले सुगम बन्दै गएको छ ।’
बरेङ गाउँपालिकामा सडकको सहज पुहँच विस्तारका लागि समेत वर्षेनि पालिकाले ठूलो बजेट लगानी गर्दै आएको शर्माको भनाइ छ । उनका अनुसार गाउँपालिकाले आफ्नो बजेटबाट सडकको सुधार गर्न नाली निर्माण गर्ने, सडक हेरालु राख्ने तथा मर्मत सम्भार गरिराखेको छ ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






