कृषि काममा पाइन छाडे मजदूर


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्बीर

देशभरका कृषकलाई बाली भित्राउने चटारो छ ।

दशैं, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन् । खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपंक्षी फार्म सञ्चालन गर्न मजदूर अभाव मुख्य चुनौती बनेको छ ।

खेती लगाउने, भित्राउने तथा गाईभैंसी, भेडाबाख्रा फार्म सञ्चालन गर्न मजदूर पाइन छाडेका मङ्गला गाउँपालिका–२ सिमका दीपक केसीले बताए ।

‘काम गर्नसक्ने उमेरका मानिस विदेशमा छन्’, भैंसी फार्म सञ्चालन गरेका केसीले भने ।

पशुलाई चरनका लागि लेक र बेंसी गराउने चलन अघिल्लो पुस्ताका वृद्ध थला परेपछि हराउँदै गएको छ । वृद्ध उमेरका कृषकले भेडा, बाख्रा, गाई र भैंसीको स्याहारसुहार गरिरहेका छन् । गोठाला नपाएपछि घोडा, गाई र भेडा पाल्न छोडेको धवलागिरि गाउँपालिका–३ फलियागाउँका चकबहादुर मल्लले बताए ।

तीस हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमीन रहेको म्याग्दीमा हाल १९ हजार चार सय ९८ हेक्टरमा खेती हुन्छ । जनशक्ति पाइन छाडेपछि अर्मपर्म, हुड्डा लगाएर खेतीबाली लगाउने, गोडमेल र भित्राउने चलन हराएको बेनी नगरपालिका–२ बाङ्गेराका कृषक वीरेन्द्र किसानले बताए ।

‘ट्रयाक्टर, थ्रेसर आदि उपकरणको विकासले सहज भए पनि लागत उठाउनै मुस्किल छ’ उनले भने, ‘अर्मपर्म गर्ने चलन हराएपछि घरकै सदस्यले फुर्सद निकालेर खेती लगाउने र भित्र्याउने गर्न थालेका छौं ।’

रोजगारीको खोजीमा युवा जनशक्ति बाध्यताले विदेशिने अवसर र सुविधाको खोजीमा सहरतर्फ केन्द्रित हुने तथा सुविधाभोगी जीवनशैलीका कारण खेतीयोग्य जमीन बाँझिएर झाडी र जंगलमा परिणत हुन थालेका छन् ।

बस्तीदेखि टाढाका जमीनमा खेती गर्न छाडेकाले झाडी र जङ्गलमा परिणत भएका बेनी नगरपालिका–२ का पदमपाणि शर्माले बताए ।

‘ट्रयाक्टरले जोत्न, थ्रेसरले गेडा झार्न, खेतकै छेउमा ट्र्याक्टरबाट मल, नल, पराल, धान र गहुँ ओसार्न सजिलो त भएको छ’ उनले भने, ‘टाढाको बाली लगाउन महँगो पर्ने भएपछि कतिपयले बाँझै छोडेका छन् ।’

पछिल्लो जनगणनाअनुसार म्याग्दीको जनसंख्या १० वर्षको अवधिमा छ हजार घटेको छ । खेती कार्यमा देखिएको जनशक्ति अभावको समस्या समाधानका लागि उपकरणको प्रयोगमा जोड दिइएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।