वडातहमै मतदाता शिक्षा


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित





गलकोट । तथा प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचनको कार्यालयले तयारीलाई तीव्रता दिएको छ । यसपटकको निर्वाचनमा वडा तहबाटै मतदाता शिक्षालाई प्रभावकारी बनाउने निर्वाचन कार्यालयको तयारी रहेको छ । यसका लागि कार्यालयले वडास्तरमै जनशक्ति परिचालन गर्न थालेको छ । कार्यालयका अनुसार आसन्न निर्वाचनमा गत स्थानीय तहको निर्वाचनभन्दा एक हजार तीन सय ९८ कम मतदाता सहभागी हँुदैछन् ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार स्थानीय तहमा अन्तिम मतदाता नामावलीमा मतदाता सङ्ख्या लाख ९३ हजार छ सय २५ रहेकामा अहिलेको मङ्सिर ४ गतेको निर्वाचनमा एक लाख ९२ हजार दुई सय २७ जना मतदाता कायम भएको छ ।

स्थानीय निर्वाचनपछि बागलुङमा दुई हजार ८०० नयाँ मतदाता थपिए पनि बसाइँसराइ तथा मतदाताको मृत्युलगायतका कारण मतदाता नामावली अध्यावधिक गर्दा मतदाताको सङ्ख्या घटेको सूचना अधिकारी शर्माको भनाइ छ । यसपटककोे निर्वाचनमा ९८ हजार छ सय ४३ महिला र ९३ हजार पाँच सय ८४ पुरुष गरी एक लाख ९२ हजार दुई सय २७ जना मतदाताले मात्रै मतदान गर्न पाउनेछन् ।

प्रत्येक वडामा माध्यामिक शिक्षा परीक्षा पास महिला स्वास्थ्य स्वयंसेविकाबाट मतदाता शिक्षाका लागि अहिले निर्वाचन कार्यालयले तयारी थालेको छ । मतदाता शिक्षाको काम १५ दिन चल्ने जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । मतदाता शिक्षाको अनुगमनसमेत अनुगमन अधिकृतबाट गरिनेछ ।

निर्वाचनका लागि जिल्लामा समानुपातिकतर्फको मतपत्र, मतपेटिका, छेकाबार आइसकेको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको विवरण सङ्कलन गरिरहेको सूचना अधिकारी शर्माको भनाइ छ । यस्तै स्थानीय तहको निर्वाचनमा धेरै स्थान मतदाताको पहुँचभन्दा टाढा रहेको, मतदानस्थल साँघुरो भएकोलगायतका समस्याका कारण मतदान तीन मतदानस्थल स्थानान्तरण र तीन मतदानस्थल थप गरिएको छ ।

थप हुने मतदानस्थलका रुपमा ढोरपाटन नगरपालिका–६ र ढोरपाटन–२ र गलकोट नगरपालिका–१० रहेको छ । यस्तै मतदानस्थल परिवर्तन भएकामा बागलुङ नगरपालिका–३ बौद्ध विहारको कालिका कन्या मन्दिर, बागलुङ–६ को वडा कार्यालयदेखि लहरेपीपल माध्यामिक विद्यालय र बडीगाड गाउँपालिका– ८ सिद्धबारी प्राविबाट भृकुटी माध्यामिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।

अन्तिम मतादाता नामावलीका लागि दाबी विरोध, मृत्यु भएकाको नामावली हटाउने, नाम परिवर्तन गर्ने विवाह गरी गएकाको दर्ता सार्ने र बसाइँसराइ गरेकाले उत्तै मतदाता नामावली सार्दा बागलुङमा स्थानीय तहको तुलनामा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एक हजार तीन सय ९८ कम मतदाता निर्वाचनमा भाग लिँदैछन् ।

यसपटकको निर्वाचनमा सुरक्षाकर्मी र स्वयंसेवकबाहेक जिल्लामा उक हजार ८०० कर्मचारी छनोट गरेर खटाउनेछ । जिल्लामा तीन मतदानस्थल स्थानान्तरण र तीन मतदानस्थल थप भएसँगै एक सय तीन मतदानस्थल र दुई सय ३१ मतदान केन्द्र कायम गरिएको यज्ञ रिजालले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।