पोखरा, कात्तिक २५
देशमा ब्यबस्था बदलिएर गणतन्त्र आयो । संघीयता आयो । संविधान बन्यो । तर जनताको अवस्था भने बदलिएन । देशको ब्यबस्था र जनताको अवस्था बदल्न हिंडेकाहरु बरु आफै बदलिए । थोत्रा लुगा लगाउनेहरु टाईसुटमा बदलिए । खुट्टामा चप्पलसमेत नलगाउनेहरु टलक्क टल्किने जुत्ता लगाउने भए । गाउँमा विहान खायो बेलुका के खाउँ, अनि बेलुका खायो विहान के खाउँ भन्नेहरु कोहि बार्दलीको सिंहासनमा विराजमान भए । तर जसलाई काँध थापेर जिताउने जनताहरु, नेता बनाउने कार्यकर्ताहरुको अवस्था भने ज्यूँका त्यूँ छ ।
त्यसैले अब अवस्था बदल्नु छ । तर धेरैको ओठे मुद्धामात्र छन् । त्यसलाई व्यवहारमा उतार्ने कुनै योजना, भिजन र मिसन छैन । कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) का गठबन्धनतर्फका माओवादी उम्मेदवार दुर्गादत्त भण्डारी (निर्भिक) जनताको अवस्था बदल्ने भन्दै कस्सिएका छन् । माथि भनेजस्तै आफूसँगैका सहयात्रीहरु बार्दलीमा पुग्दापनि उनी भने जनताकै सेवामा दत्तचित्त छन् । उनलाई नत सहयात्रीले गरेको प्रगतिमा डाह छ, नत उनीहरुले गरेको प्रगतिमा ईश्र्या छ । बरु जनताको अवस्था बदल्ने हुटहुटीले मात्र उनलाई सताउँछ । त्यसैले त उनी यसपटक उम्मेदवार बनेर जनताको अवस्था बदल्ने योजना सुनाउँदै मत मागिरहेका छन् ।
सोझा र ईमान्दारिताका प्रतिमूर्ति दुर्गादत भण्डारी (निर्भिक) कास्की–३ (१) का उम्मेदवार छन् । उनी कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन् । २०१२ साल कात्तिक १२ गते जन्मिएका भण्डारीले शिक्षा शास्त्रमा स्नातक उत्तिर्ण गरेका छन् । २०४२ सालमा ने.क.पा. (मशाल)बाट राजनीतिक यात्रा शुरु गरेका उनी पार्टीको संस्थापन पक्षमा सदैव सतिसाल झैं उभिदै आएका छन् । उनी मशाल पुनः नामाकरण हुँदै ने.क.पा. (माओवादी केन्द्र) सम्म आईपुग्दा पनि यहि पार्टीका ईमान्दार सिपाही बनेर देश र जनताको सेवामा लागिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका भण्डारी अन्नपूर्ण गाउँपालिकाका ईञ्चार्जसमेत हुन् । उनी माओवादी निकट बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजकपनि छन् ।
जनताको अवस्था बदल्ने भिजन र मिसन लिएर चुनावी मैदानमा होमिएका भण्डारीले त्यसका लागि केहि योजना बनाएका छन् । उनी जनताको अवस्था बदल्ने हो भने उद्यमशिलताको विकास गर्दै स्वरोजगार सिर्जना गर्नुपर्ने बताउँछन् । राज्यको श्रोत र साधनलाई समावेशी र समानुपातिक ढंगबाट वितरण हुनुपर्ने, न्यायपूर्ण समाज निर्माण गर्नुपर्ने, हुँदा खाने र हुनेखाने बीचको खाडल तोड्नुपर्ने माओवादीको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्नका लागि भूमिका खेल्ने भन्दै भण्डारीले त्यसका लागि मानव संसाधन विकासमा जोड दिनुपर्ने बताएका छन् । शिक्षा, स्वास्थ्य, तालिम, अनुसन्धानलगायतलाई निःशुल्क बनाउने अभियानको थालनी गर्ने दृढ संकल्प लिएर चुनावी घरदैलोमा रहेका भण्डारीले दैनिक उपभोग्य वस्तु तथा साधनको व्यवस्थापनमा जोड दिएका छन् ।
देशको समृद्धि उर्जा र पर्यटनबाट सम्भव देखेका उनी यसको विकास, बिस्तार र प्रवद्र्धन गर्नुपर्ने बताउँछन् । त्यसका लागि राज्यले नै स्पष्ट नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भन्दै यसमा आफूले भूमिका खेल्ने उनको भनाई छ ।
उनले जनताको सुविधाका लागि सुइखेत खोलामा तटबन्ध निर्माण गर्ने, सुईखेतहुँदै पोखरा–२४ जोड्ने बाटो कालोपत्रे गर्ने, अन्नपूर्ण–१, घट्टेखोला र लखनेजादे–धम्पुस देउराली मोटरबाटो कालोपत्रे गर्ने, सेदीदेखी ग्यारजाती सडकको स्तरोन्नती गर्ने । पोखरा–१८ मा पर्ने कृषि सडकलाई कालोपत्रे गर्नेलगायतका योजनापनि अघि सारेका छन् । त्यस्तै, लामाचौर–बाटुलेचौरहँुदै छहरेपानी पुग्ने बाटो कालोपत्रे गर्ने, लामाचौर–भुनपहरे–चितेपानी–चुरुङ सडकको स्तरोन्नती गर्ने, तल्लाकोट–भुजुङ सडक काल्पत्रे गर्ने, मिलनचोक–लाहाचोक– घाचोक–माछापुछ्रे सडक खण्ड कालोपत्रे गर्ने, मिलनचोक–खोराकोमुख–संदीघट्ट–ल्वाङघलेल खण्ड कालोपत्रे गर्ने, खोराकोमुख–रिभान मोटरबाटो स्तरोन्नती गर्ने लगायतका योजनापनि ल्याएका छन् ।
उम्मेदवार भण्डारीले विध्यवासिनी–सराङ्कोट–कास्कीकोट सडकखण्ड चक्ल्याउने, विन्ध्यवासिनी–पोखरा बेसी सडक कालोपत्रे गर्नेलगायतका महत्वकांक्षी योजना यसअघि नै सार्वजनिक गरिसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







