विकासे अभियन्ता विश्वप्रकाश : जसले हारे पोखराले हार्छ ?


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित




पोखरा, कात्तिक २५

कोहि कोहि उम्मेदवार यस्ता हुन्छन् जसले हारे व्यक्तिले हार्दैन । बरु सिंगो ठाउँले हार्छ । समाजले हार्छ । अनि देशले हार्छ । त्यस्ता व्यक्तिलाई जिताउनका लागि व्यक्ति स्वार्थ भन्दा माथि उठ्नुपर्छ । कार्यकर्ता पार्टी भन्दा माथि उठ्नुपर्छ । र सिंगो गाउँ, टोल, समाज, नगर र क्षेत्रका जनता एक ढिक्का भई उसको पक्षमा उभिनुपर्छ । हो त्यस्तै उम्मेदवार हुन् कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछाने ।

झट्ट सुन्दा नमिठो लाग्न सक्छ । आवाज कर्कश लाग्न सक्छ । अनि पार्टी सम्झिदा झन् सिरिङ्ग हुनसक्छ । तर देशका लागि, जनताका लागि, सुशासनका लागि, विकासका लागि, भावी सन्ततीको भविष्यका लागि पार्टी भन्दा माथि उठ्न यसपटक जरुरी छ । किनकी देशमा ब्यबस्था फेरियो तर अवस्था फेरिएन । नेताका दिन फेरिए तर देशको ऋण तिरिएन । शोषण, दमन, अत्याचार, भ्रष्टाचार मौलाएको छ । त्यसको समुल नष्ट गर्न फेरीपनि भ्रष्टहरुले सक्दैनन् । त्यसैले स्वच्छ छवी बनाएका विकासे अभियन्ता विश्वप्रकाशलाई जिताउनुको विकल्प छैन भन्छन् माओवादी नेता जनकराज पराजुली ।

किनकी विश्वप्रकाशले आफूलाई पटक/पटक प्रमाणित गरिसकेको उनको भनाई छ । कहिले पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष भएर सार्वजनिक सम्पतीको संरक्षण गरेर त कहिले फेवातालको जग्गा छानबिन समितिको संयोजक भएर भु–माफियाहरुले हडपीसकेको जमिन संरक्षण गरेर । आफूमाथि जस्तोसुकै बाधा, अड्चन आएपनि, समस्याले थिचेपनि देश, जनता र समाजका लागि आफ्नो ज्यानको पर्वाह नगरी रातदिन खटिने अभियन्ता हुन् विश्वप्रकाश-उनले भने।

भलै उनी अहिले गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार बनेका होलान् । तर उनलाई कुनै एउटा गुटको, कुनै एउटा पार्टीको, कुनै एउटा गठबन्धनको घेरामा राखेर पराजित गर्नु देशलाई अद्योगतितर्फ लैजानु हो । विकास होईन विनासको बाटो समात्नु हो । अनि अग्रगामी होईन प्रतिगामी कदम चाल्नु हो । जुन कुनै एउटा पार्टी, व्यक्ति, समाज वा क्षेत्रको लागि मात्र नभई देशकै लागि दुर्भाग्य हुने मजदुर नेता रुद्रप्रसाद गौतम ।

देशले अहिले परिवर्तन खोजिरहेको छ । पुस्तान्तरण खोजिरहेको छ । केहि गर्न खोज्ने आँट, साहस, जोश र जाँगर भएको विकासे अभियन्ता खोजिरहेको छ । जसको स्पष्ट भिजन होस् र कार्यान्वयन गर्ने मिसन हो । त्यो विश्वप्रकाशमा छ र उनले यसअघि नै आफूलाई अब्बल सावित गरिसकेका छन् -गौतमले भने ।

भनिन्छ ‘मौका आउँछ पर्खिदैन, बगेको खोला फर्किदैन’ हो आज पोखराले अब्बल उम्मेदवार जिताउने मौका पाएको छ । पार्टीको उम्मेदवारलाई अर्कोपटक फेरी जिताउँला । तर आज देश बनाउने अठोट लिएका, समाज बनाउने सपना बोकेका, सम्पदा संरक्षण र विकास र समृद्धिका बाहक विश्वप्रकाशलाई जिताऔं । किनकी अब बदलिने समय आएको छ । अहिले नबदलिए कहिले बदलिने रु अहिले नसच्चिए कहिले सच्चिने रु अबपनि पोखरेली जनताको चेत नखोले भोलि ईतिहासले धिक्कार्नेछ । त्यसैले पोखरेलीको दृष्टि चेत खुल्नैपर्छ, विश्वप्रकाशलाई जिताउनै पर्छ -उनले भने ।

जनताको परिवर्तनको चाहना नै आफ्नो एजेन्डा भएको बताउने विश्वप्रकाश भन्छन्, ‘मसँग पोखरा कस्तो बनाउने भन्ने योजनाबद्ध भिजन छ । त्यो भिजन अनुसार काम गर्ने मिसन छ ।’ आफ्नो पहिलो एजेन्डा नै सुशासन भएको बताउँदै उनले निम्न, मध्यम वर्गका जनताको समृद्धि र जीवनस्तरमा कसरी परिवर्तन गर्ने भन्ने योजना आफूसँग रहेको बताए ।

प्राकृतिक रुपले सुन्दर पोखरालाई उचित पूर्वाधार बनाएर नमुना पर्यटकीय स्थल बनाउने विश्वप्रकाशले नयाँ विमानस्थल सञ्चालनमा आएपछि पुरानो एअरपोर्टको करिब ११ सय रोपनी जग्गालाई अन्तर्राष्ट्रिय स्तरको सेवा, सुविधासहितको सुन्दर हरियाली पार्क बनाउने योजना अघि सारेका छन् । यो आम पोखरेलीको चाहना अनुसार नै ल्याएका हुन् उनले । पोखरा चक्रपथ रुट निर्माण समितिका संयोजक रहेका उनी यसलाई आगामी ५ वर्षभित्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछन् ।

विश्वप्रकाशले पृथ्वी राजमार्गलाई सिद्धार्थ राजमार्ग जोड्न पुँडिटारदेखि भरतपोखरी, निर्मलपोखरी, कृस्तिहुँदै पुम्दीभुम्दीसम्मको बाईपास रोड निर्माण गर्न सकिने र त्यसका लागि आफूले नेतृत्वदायी भूमिका खेल्ने बताएका छन् । यसले पोखरा बजारमा बढेको ट्राफिक जाम र भिड कम गर्ने उनको भनाई छ । उनले पोखराको सहरी क्षेत्रलाई पर्यटकीय केन्द्र र ग्रामीण क्षेत्रहरुलाई उत्पादन र आयआर्जनसँग जोड्ने योजना ल्याएका छन् । त्यस्तै कृषिको आधुनिकीकरण, व्यवसायीकरण गर्दै विशेष कृषि जोनको रुपमा त्यो क्षेत्रलाई विकास गर्ने सपना उनले सजाएका छन् ।

समृद्धिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर आएको भन्दै उनले एमाले समर्थकलाईपनि यसपटक पार्टी भन्दा माथि उठेर देश र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर आफूलाई मतदान गर्न आग्रह गरे । ‘आउनूस हामी सबै मिलेर देश बनाऔं । ममा केहि योजना, सपना, भिजन र मिसन छन् । सबै मिलेर कार्यान्वयन गरौं’–उनले भने ।

उनले कास्की २(१) मा अथाह सम्भावना रहेको बताउँदै यसको सौन्दर्यीकरणमा जोड दिएका छन् । उनले भने,‘सहरी क्षेत्रमा पोखराकै सबैभन्दा राम्रो पर्यटकीय क्षेत्रः ड्यामसाइड । पातले छाँगो, गुप्तेश्वर जस्ता धार्मिक, सांस्कृतिक सम्पदा छन् । बहुमारादेखि पुँडीटारसम्मको समथर भूभाग छ । ग्रामीण भूभाग रमणीय र दृश्यावलोकन लागि उपयुक्त छन् । कृषि उत्पादन र पशुपालनसँगै पर्यटकीय सम्भावना अथाह छ । यी ठाउँहरुमा पूर्वाधार निर्माण गरेर पर्यटनलाई बढावा दिनसके यसैबाट समृद्धि सम्भव छ ।’

पर्यटनलाई बैदाम, लेकसाइडमा मात्र सिमित गर्न नहुने उनको भनाई छ । यसलाई त ग्रामीण क्षेत्रसम्म लैजानुपर्ने भन्दै उनले त्यसका लागि आफूसँग योजना रहेको सुनाए । उनले पोखराका ग्रामिणक्षेत्रलाई महानगर बनाईएपनि समानुपातिक विकास नगर्दा ती क्षेत्रका जनताले महानगरको अनुभूति नगरेको बताए । त्यसैले ती क्षेत्रको विकासका लागि दीर्घकालीन र अल्पकालीन योजना ल्याएर विकास र समृद्धिका काम गर्नुपर्ने उनले बताए । ग्रामीण क्षेत्रलाई आवास क्षेत्र, पुँडिटार क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्नसकिने उनको भनाई छ । उनले अब ठूला अस्पताल, विश्वविद्यालय, क्याम्पस, खेलका संरचना यी क्षेत्रमा बनाउन सके समानुपातिक विकासलाई टेवा पुग्ने बताए ।

उनी नेतृत्वको समितिले गरेको अध्ययनको आधारमा सर्वोच्च अदालतले फेवाताल जोगाउनका लागि ऐतिहासिक फैसला गरेको थियो । फैसला भए पनि कार्यान्वयनका लागि ३ तहका सरकारले भूमिका निर्वाह गर्न सकेका छैनन् । यसका लागि जनदबाब आवश्यक पर्ने उनी बताउँछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।