बागलुङका ८५ वटै वडामा मतदाता शिक्षा तीव्र


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित





गत स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतदातालाई मतदाता शिक्षा नदिँदा बागलुङमा ठूलो सङ्ख्यामा मत बदर भयो । यसपाली भने आयोगले स्थानीय तहसँग सहकार्य गरेर मतदाता शिक्षा सुरु गरेको छ । जिल्लाका १० वटै स्थानीय तहमा यति बेला महिला स्वयंसेविका घर–घर पुगेर मतदातालाई मतदान गर्न सिकाइरहेका छन् ।

मतदाता शिक्षा पाएपछि मत बदर नहुनेमा मतदाता विश्वस्त छन् । बागलुङ नगरपालिका–१ रामरेखाका ८९ वर्षीय मनवीर रोकाले यसअघिका चुनावमा नेता कार्यकर्ताहरु आएर सिकाउनेजस्तो गरे पनि अहिले सरकारले नै भोट हाल्न सिकाएको बताए ।

उनले मतदाता शिक्षाका लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले मतपत्रमा छाप लगाउने र मतपत्र पट्याउने तरिका सिकाएका छन् भने । यतिबेला जिल्लाका दुई निर्वाचन क्षेत्रका ८५ वटा वडामा ८५ महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षाको लागि खटिएका छन् ।

कात्तिक १८ गतेदेखि घरदैलो गरेका उनीहरुले मङ्सिर २ गतेसम्म मतदातालाई भेटेर बदर नगरी मतदान गर्न सिकाउँदै छन् । जिल्ला निर्वाचन कार्यालयको सहयोगमा जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्ना वडामा प्रतिवडा एक महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा प्रदान गर्न खटाएको हो ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा १० दशमलव ६३ प्रतिशत मत बदर भएको थियो । एक लाख ९३ हजार दुई सय २६ मतदातामध्ये एक लाख २१ हजार आठ सय ६९ प्रतिशत मत खसेको थियो । जसमा १३ हजार सात सय ४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले बताए ।

स्थानीय तहको निर्वाचनको तुलनामा सदरमत बढाउन आयोगकोे निर्देशनअनुसार स्थानीय तहको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकालाई घर–दैलोमा खटाइएको निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले बताए । मतदाता शिक्षा दिन घर–घर महिला स्वास्थ्य स्वयंसेविका भने मतदाताका प्रश्नबाट घेरिएका छन् ।

कुन राजनीतिक दलबाट आएको, हामीलाई फुर्सद छैन, मेलापातको समयमा नअल्मल्याउनुस्, जसलाई मत दिए पनि काम गर्ने होइनन् भन्ने प्रश्नले हैरान भएको स्वयंसेविकाको गुनासो छ । यसअघि छोराछोरी, बुहारी नातिनातिना र अन्य व्यक्तिको सहयोगमा मत खसाल्नुपर्ने बाध्यता भएकामा यसपटक आफै मताधिकार प्रयोग गर्न सक्ने गरी मतदाता शिक्षा प्रदान गरिएको स्वयंसेविकाको भनाइ थियो ।

पन्ध्र दिनका लागि मतदाता शिक्षाको दिन खटिएका स्वयंसेविकलाई सम्बन्धित स्थानीय तहले रु १५ हजार भत्ता दिने व्यवस्था गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।