देशलाई सबैभन्दा माथि राखेर काम गर्छु: बराल


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित




कास्की–१ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश सबैभन्दा माथि भएको बताएका छन्।

देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्बारी भएको उनको भनाई छ। उनले गठबन्धन देशको आवश्यकता भएको उल्लेख गरे।

बरालले गठबन्धन निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पुर्‍याउनका लागि मात्र नभएको स्पष्ट पारे। उनले देश बचाउन र उपलब्धीको रक्षाका लागि गठबन्धन भएको उल्लेख गरे।

पोखरा–२७ मा आइतबार घर–दैलो र मतदाता भेटघाट गर्दै पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार समेत रहेका बरालले जनतालाई झुटो नबोली सत्य–सत्य कुरा गर्ने बताए।

‘जथाभावी बोलेर हिँड्दिन, भोलिपनि तपाइँहरुसँग भेटिनुपर्छ’, उनले भने, ‘गर्न सक्ने र पूरा गर्ने कुरा मात्र गर्छु, मलाई विश्वास गरिदिनुहोस्।’

उनले विकास निर्माण समाजको आवश्यकता र प्राथमिकताका अधारमा हुने उल्लेख गरे।

‘धेरै आवश्यकता छन्, एकैपटक सबै आवश्यकता पूरा गर्न सकिदैन’, उनले भने, ‘तपाइँहरुले नै जुन काम पहिले गर्नुपर्छ भन्नुहुन्छ, त्यहि गर्छु।’

उनले शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिएका छन्। उम्मेद्बार बराल सोमबार पोखरा֪–१४ मा मतदाता भेटघाट र घर–दैलो गर्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।