वाम लोकतान्त्रिक गठबन्धन स्याङ्जाले मंसीर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सामूहिक प्रतिबद्धता जनाएका छन्।
पाँच दलका प्रमुखले हस्ताक्षर गरेको साझा प्रतिबद्धतामा ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न यातायातका पूर्वाधार निर्माण गर्न सक्नेगरी पूर्वाधारमा सुधार गर्दै गुणस्तरीय पर्यटन व्यवसाय विस्तार गर्ने, पर्यटनलाई समृद्धिको आधार बनाउने, शैक्षिक संस्थाहरूको स्तरवृद्धि गरी बाहिरबाट समेत यहाँ उच्च शिक्षा हासिल गर्न आउने वातावरण निर्माण गर्न जोड दिइएको छ।
यस्तै, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, जनताको लगानी वृद्धि गरी ऊर्जा निर्यात गर्ने, आधुनिक स्वास्थ्य सुविधा हरेक पालिकामा पुर्याउने, खेलमैदान निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा जोड गरिएको छ।
सिद्धार्थ राजमार्गलाई २ लेनमा स्तरोन्नति तथा कालीगण्डकी, आँधीखोला, ज्याग्दीखोला, दरौं खोलामा आवश्यकताअनुसार हाईड्याम तथा कोरिडोरको पहल, स्याङ्जा–पोखरा सुरुङ मार्ग निर्माणमा पहल, जिल्लाका सबै पालिकाको केन्द्र जोड्ने सडकलाई १२ महिना हुनसक्ने गरी स्तरोन्नति, गरिब तथा पिछडिएको वर्ग समुदायको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन, महिला सशक्तीकरणका लागि महिला, शिक्षा र रोजगारीमा जोड दिने प्रतिबद्धता रहेका छन्।
दलित तथा जनजातिहरूलाई विशेष अवसर प्रदान गरी मुलप्रवाहीकरण गर्ने, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिको जीवन सहज बनाउन विशेष व्यवस्था गर्ने, बालबालिकाको चौतर्फी विकासमा जोड दिने, पिछडिएका स्थानहरूको विकासका लागि विशेष योजना कार्यान्वयनमा ल्याउने सामूहिक प्रण गरिएको काँग्रेस नेता केदार काफ्ले बताए।
भ्रष्टाचारमुक्त तथा सुशासनयुक्त मानव विकास सूचकांकमा स्याङ्जालाई नमुना जिल्लाको रूपमा विकास गर्ने संकल्पसहित लोकतान्त्रिक–वाम गठबन्धन अगाडि बढेको काफ्लेले बताए।
गठबन्धन सत्ता प्राप्तिका लागि नभई संविधानको रक्षा, जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको समावेशी संघीय प्रजातान्त्रिक गणतन्त्रको सुदृढीकरण, समावेशी, सहभागितामूलक तथा सन्तुलित विकास र समृद्धिप्रतिको जनचाहना पूरा गर्नका लागि भएको नेकपा (माओवादी केन्द्र) का संयोजक प्रकाश न्यौपानेले बताए।
यहाँ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारलाई पार्टी निर्णयअनुसार र समानुपातिकतर्फका उम्मेदवारलाई आ–आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न पनि सामूहिक आव्हान गरेका छन्।
यस्तै, क्षेत्र नं १ का गठबन्धनको तर्फका उम्मेदवार राजु थापा, अमृता थापा र कुमार रानाले समेत संकल्पपत्र सार्वजनिक गरेका छन्। कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, उद्योग संस्कृतिलगायतका १४ बुँदासहितको संकल्पपत्र सार्वजनिक गरेको छ।
यहाँ नेकपा (एमाले) सहितका निर्वाचनमा होमिएका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारले भने कुनै प्रतिबद्धता तथा संकल्पपत्र सार्वजनिक गरेका छैनन्।
गोरखापत्रमा समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






