‘कालोसूचीमा नपरेका रामजीबिरुद्ध एमालेको अनर्गल प्रचार’

- पराजित मानसिकताको उपज : रामजी


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित




पोखरा ३०, कार्तिक

नेकपा एमालेले कालोसूचीमै नपरेका कास्की ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजीप्रसाद बराल (जीवन)बिरुद्ध अनर्गल प्रचार गरेको पाइएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट बराल संलग्न पोखरा–९ नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थाले लिएको रकम नतिरेपछि सामान्य सचेत मात्र गराएको विषयलाई एमालेले चुनावको मुखमा कालोसूचीमा परेको भन्दै अनर्गल प्रचार गरेको पाइएको हो । सोहि प्रचारका आधारमा भ्रमित भई पोखरा–२४ कास्कीकोटका बोधराज सुवेदीले बरालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरीसमेत गरेका थिए ।

तर कोषले दिएको ५० लाख सहकारीले यसअघि नै चुक्ता गरिसकेको पुष्टि भएको छ । साथै उक्त सहकारी कालोसूचीमा नपरेकोपनि कोषले सूचना जारी गरेर जानकारी गराईसकेको छ । सहकारी नै कालोसूचीमा नपरेपछि बराल कालोसूचीमा पर्ने कुरै भएन । तर एमाले कार्यकर्ताहरुले कालोसूचीमा परेको भन्दै अनर्गल प्रचार गरेपछि उम्मेदवार बरालको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले भनेको छ,‘हुँदै नभएको घटनालाई बढाईचढाई गरेर जनता भ्रमित पार्ने काम भएको छ । यो आपत्तिजनक छ र यसप्रति हामी खेद व्यक्त गर्दछौं ।’

सचिवालयले आगामी दिनमा यस्ता घटना नदोहो¥याउन चेतावनीसमेत दिएको छ । हामी सम्बन्धित सरोकारवाला पक्षलाई सचेत गराउन चाहन्छौं,‘सचिवालयले भनेको छ,‘आगामी दिनमा पनि यस्ता घटना दोहोरिए हामी चुप लागेर बस्दैनौं । ईंटको जवाफ पत्थरले दिने चेतावनी दिन चाहन्छौं ।’

यसैबीच, उम्मेदवार बरालले अनर्गल प्रचार पराजित मानसिकताको उपज भएको टिप्पणी गरेका छन् । घरदैलोको अन्तिम अवस्थामा जनता भ्रमित गर्नेगरी अनर्गल प्रचार गर्नु पराजित मानसिकताको उपज हो,उनले अगाडि भने,‘कालोसूचीमा परेको भनेर गरिएको प्रचार र उजुरी मिथ्या, कपोलकल्पित र भ्रमपूर्ण तथा पराजित मानसिकताको पराकाष्ठा हो । आईन्दा यस्तो नगर्न म विपक्षीलाई चेतावनी दिन चाहन्छु ।’ उनले विपक्षी उम्मेदवारलाई स्वस्थ प्रतिष्पर्धामा आउनपनि आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।