पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारी पैसा आमा समूहलाई बाँडेको आरोप लागेको छ ।
माओवादी नेता बराल आगामी मंसिर ४ को चुनावमा कास्की ३ बाट सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
मतदाता प्रलोभनमा पार्न सत्ताको दुरुपयोग गरेर बरालले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको उजुरीकर्ताले आरोप लगाएका छन् । उनले सरकारी ढुकुटीको पैसा रकमान्तर गरेर आमा समूहलाई बाँडेको भन्दै निर्वाचन आयोगमा बुधबार उजुरी परेको हो ।
पोखरा महानगरपालिका १७ निवासी महेन्द्र पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा उजुरी दिएका हुन् ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेक अन्य कार्यक्रम, योजना घोषणा गर्न नहुने व्यवस्था छ ।
तर, अर्थमन्त्री बरालले पाँच करोड रूपैयाँ पैसा विभिन्न आमा समूहसहित संस्थाको भवन बनाउन दिने भनेर रकमान्तर गरेको भन्दै उजुरी परेको हो । पौडेलले बुधबार अर्थमन्त्रालयमा पुगेर रकमान्तरको विषयमा सूचना माग गरेका थिए । तर, अर्थ मन्त्रालयका सूचना अधिकारीले निर्णयको फाइल मन्त्रीसँगै भएकाले आफूलाई जानकारी नभएको भन्दै फर्काइदिएका थिए ।
उजुरीकर्ता पौडेलले गत २७ कार्तिकको मन्त्रीस्तरीय निर्णयबाट आमा समूहको भवन निर्माणमा सहयोग गर्ने निर्णय भएको जानकारी आएपछि उजुरी दिएको बताए ।
बरालविरुद्ध बुधबार नै कालोसूचीमा परेको मान्छे भनेर उम्मेदवारी खारेज माग गर्दै अर्को उजुरी परेको थियो । त्यो विषयमा निर्वाचन अधिकृतको कार्यालयले उनलाई स्पष्टीकरण सोधेको छ । बरालले भने पुरानो घटनालाई चुनावको बेला अतिरञ्जित बनाइएको बताएका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







