बर्खास्त गर्नुको चित्तबुझ्दो जवाफ नदिए मुख्यमन्त्रीले अनियमितता गरेको अडियो भिडियो सार्वजनिक गर्दिन्छु : खड्का


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर १

बर्खास्तमा परेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गरेको अनियमितताको अडियो, भिडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन् । बर्खास्तमा परेको दुई दिनपछि पत्रकार सम्मेलन गरेर खड्काले मुख्यमन्त्रीले अनियमितता गर्दाको अडियो, भिडियो आफूसँग रहेको र त्यो केहि दिनपछि सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । मैले के अपराध गरेँ र मलाई बर्खास्त गरियो,उनले भने,‘यसको चित्तबुझ्दो जवाफ मुख्यमन्त्रीले नदिए म उहाँको गोप्य अडियो, भिडियो सार्वजनिक गर्दिन्छु ।’ उनले चुनाव अघि नै सार्वजनिक गर्दा चुनावमा पार्टीलाई असर पर्ने भएकाले चुनावपछि उक्त अडियो भिडियो सार्वजनिक गर्ने बताए । भनेपछि चित्त बुझ्दो जवाफ दिएमा उक्त अडियो भिडियो लुकाईराख्ने हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने,‘यसबारे म थप बोल्दिन । तर बार्गेनिङ गर्नका लागि मात्र भनेको होईन ।’ तर आफ्नो अन्तिम श्वास जानुअघि अडियो, भिडियोबारे खुलाशा गरेरै छाड्ने बताए ।

मुख्यमन्त्री पोखरेलले गठबन्धनलाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरेका थिए । खास गरेर कास्की २ (१)का कांग्रेस उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको उनीमाथि आरोप छ ।

खड्काले भने आफूलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने कारण आफूले थाहा नपाएको बताए । तर कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले लगाएको आरोप र मुख्यमन्त्रीले माईतीघाटमा एक अर्बको पुल बनाउन खोज्दा आफूले विरोध गरेपछि त्यसकोपनि रिस फेरेको हो कि भन्ने आफूलाई आशंका रहेको उनले बताए । उनले पूर्व पदाधिकारीलाई सुविधा दिने विषयमा पनि आफूले अब्जेक्सन गरेकाले त्यसको प्रतिशोध मुख्यमन्त्रीले साँधेको हुनसक्नेपनि बताए । उनले भने,‘चुनावलगत्तै पूर्व पदाधिकारीलाई सुविधा दिने प्रस्ताव आउँदैछ । त्यसकोविरुद्धमा मसहित अन्य दुईजना मन्त्री थियौं र त्यो प्रस्ताव आए पदबाट सामुहिक राजिनामा दिने भनेका थियौं । त्यसलाई रोक्नपनि मलाई बर्खास्त गरिएको हुनसक्छ ।’

खड्काले मन्त्री थापा कास्की–२ को (२)मा अलोकप्रिय रहेको दाबी गरे । मैले वडामा बजेट हाँले, त्यहि विषयलाई लिएर उहाँले मलाई वडामन्त्री भन्नुभो,उनले अगाडि भने,‘तर उहाँले वडामा बजेट हाल्नु भएन, त्यो बजेट लगेर आफ्नो घर अगाडि बाटो लैजान, आफूले प्लटिङ गरेको जग्गामा बाटो लैजान हाल्नुभो ।’ त्यसैले थापा आफ्नो क्षेत्रमा अलोकप्रिय भएको उनको दाबी छ ।

खड्काले आफूलाई बर्खास्त गरेर अपमान गरेपनि कांग्रेस पार्टी नछाड्ने बताए । म विद्यार्थी कालदेखि नै कांग्रेसमा लागेको व्यक्ति हुँ, त्यसैले कसैले मलाई अपमान ग¥यो भनेर पार्टी छाड्ने कुरा हुँदैन । त्यसमापनि मलाई मुख्यमन्त्रीले अपमान गरेका हुन् कांग्रेस पार्टी र शिर्ष नेताहरुले त गरेका होईनन् नि । त्यसैले म कांग्रेस कहिल्यै छाड्दिन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।