‘मतदान केन्द्रमा ३ घेराको सुरक्षा व्यवस्था’


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा ३ घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ।

निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक संपूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको बताएको हो।

निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन्।

उनले ३० मिनेटभित्र मतदान केन्द्रमा पुग्न सक्नेगरी सुरक्षाकर्मीको रिजर्भ फोर्सकोसमेत व्यवस्था गरिएको बताए। त्यस्तै, निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने लगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको उनले उल्लेख गरे।

त्यस्तै, जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन हुनेछ। उनले मतदान केन्द्रमा असर पुर्‍याउने खालका कुनैपनि प्रकारका गतिविधि भएमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक लगायत जसले पनि सूचना दिन र अनुचित क्रियाकलाप गरेमा कानूनी कारबाही हुनेछ।

आयोगले आगामी मंसीर ४ गते हुने निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको जनाएको छ। १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाएको जनाएको छ। यस्तै, १४१ अस्थायी मतदान केन्द्र रहेको र ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् भने प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ। त्यस्तै, प्रदेश सभाको प्रत्यक्षतर्फ ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचिमा कायम गरिएको छ।

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छपाई गरी ढुवानी गरिसकेको छ।

त्यस्तै, प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरिएको छ। उनले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा राष्ट्रिय संस्था र २ वटा अन्तर्राष्ट्रिय संस्थाले आयोगबाट अनुमति पाएको र पर्यवेक्षकले प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा पर्यवेक्षण गर्नेछन्। आयोगले करिव ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराएको छ।

मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिव २ लाख ४६ हजार ९६० कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थल पुगिसकेका छन्। मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।