युक्रेनमा विमान खसाल्ने ३ जनालाई आजीवन कैद


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित




एउटा डच अदालतले सन् २०१४ मा २९८ जनाको ज्यान जानेगरी पूर्वी युक्रेनको आकासमा एउटा यात्रुवाहक विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसाल्ने ३ जनालाई हत्या अभियोगमा दोषी ठहर गरेको छ।

अदालतले रुसी अधिनस्थ क्षेत्रमा रहेको एउटा सशस्त्र समूहले रुसले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गरी कल साइन एमएच १७ बोकेको विमान खसालेको पत्ता लगाएको हो।

दोषी ठहराइएकामध्ये २ जना रुसी र एकजना युक्रेनी नागरिक छन्। ती अभियुक्तहरूको अनुपस्थितिमा अदालतले उनीहरूलाई आजीवन काराबास सजाय सुनाएको हो। तर, अभियोग लगाइएका तेस्रो रुसीलाई भने सफाई दिइएको छ।

त्यतिबेला क्षेप्यास्त्र प्रहार गरिनु युक्रेनको सबैभन्दा कुख्यात युद्ध अपराधमध्ये एक थियो। हिंसाको अभियोग लगाइनु अघिसम्म झण्डै नियमित जस्तो त्यहाँ क्षेप्यास्त्र प्रहार हुने गरेको थियो।

विमान काण्डमा मारिएका व्यक्तिहरूका अधिकांश आफन्तहरू यदि विश्वले ८ वर्षअघि नै फरक ढंगले प्रतिक्रिया जनाएको वा रुसविरुद्ध कडा अडान लिएको भए अहिले युक्रेनमाथिको हमला र त्यसपछि आएको भूराजनीतिक अस्थिरता भोग्नुपर्ने स्थिति नै नआउने बताउँछन्।

अदालतमा न्यायधीशहरूले दोषी ३ जनाले सैनिक विमान मात्र खसाल्न चाहेको भएपनि आक्रमण नियतवश नै भएको देखिएको जनाएका छन्। तथाकथित दोनेतस्क जन गणतन्त्रका सैनिक नेता इगोर गिर्किनलाई क्षेप्यास्त्र तैनाथ गरेको र रुसी मद्दत खोजेको आरोपमा दोषी ठहराइएको हो।

सर्गेई दुविन्स्कीलाई बक क्षेप्यास्त्र प्रक्षेपक अडर्र गरेर ल्याएकोमा दोषी ठहर गरिएको हो। लियोनिद खार्चेन्काले दुविन्स्कीको निर्देशनमा काम गर्दै बकको निरीक्षण गरेको पाइएको छ। अदालतमा चौथो अभियुक्त ओलेग पुलातोभको मात्रै कानुनी प्रतिनिधि उपस्थित रहेको पाइएको थियो। क्षेप्यास्त्रबारे उनलाई जानकारी रहेको बुझिएपनि न्यायधीशहरूले उनलाई सफाई दिएका हुन्।

सन् २०१४ को १७ जुलाईमा ८० जना बालबालिकालगायत चालक दलका १५ जना सदस्यसमेत सवार सो विमान आम्सटर्डम्सको स्किफोल विमानस्थलबाट मलेसियाको क्वालालम्पुरतर्फ उडेको थियो।


बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।