इरानमा सुरक्षाकर्मीको गोली लागेर २ बालकको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

दक्षिण पश्चिमी इरानमा बुधबार भएको सरकार विरोधी प्रदर्शनका क्रममा सुरक्षा फौजले चलाएको गोली लागेर २ जना बालकको मृत्यु भएको छ।

सरकारी संचारमाध्यमले भने इजेहमा भएको एउटा आतंककारी हमलामा मोटरसाइकलमा सवार बन्दुकधारीहरूले ७ जना मानिसको ज्यान लिएको दाबी गरेका छन्।

तर, अन्य स्रोतले भने सुरक्षाकर्मीको गोली प्रहारबाट ९ वर्षीय कियान पिर्फालाक र १४ वर्षीय सेपेहर माघसाउदीको मृत्यु भएको बीबीसी पर्सियनलाई जानकारी गराएका छन्। सोही दिन इरानका विभिन्न स्थानमा कम्तीमा १३ जना मारिएको बताइएको छ।

इन्धनको मूल्यवृद्धिलाई लिएर सन् २०१९ नोभेम्बरमा आयोजित विरोध प्रदर्शनमाथि दमन गरिँदा मारिएका व्यक्तिहरूको स्मरणमा मंगलबार इरानका प्रमुख सहरहरूमा हडताल हुनुका साथै सडकहरूमा विरोध प्रदर्शनको लहर फैलिएको थियो।

३ महिना अघि प्रहरी हिरासतमा २२ वर्षीया माहसा आमिनी नामक एक युवतीको मृत्यु भएयता प्रदर्शनको सुरुवात भएको हो।
इरानको कडा हिजाब कानुन उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। अहिलेसम्म कम्तीमा ३६२ जना प्रदर्शनकारीले ज्यान गुमाइसकेका छन्। मारिनेमा ५६ जना बालबालिका छन्।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।