पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीले देशको क्षेत्रीय र बिधान सभाबाट बाहिरिने घोषणा गरेका छन्।
विश्व प्रसिद्ध पूर्व क्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि गत अप्रिलमा पदच्युत भएका थिए ।
उनको दल अहिले प्रतिपक्षमा छ । उनले विदेशी शक्तिको सहयोगमा प्रधानमन्त्री शाहबाज सरिफले आफूलाई पदच्युत गर्नु गैरकानुनी र योजनाबद्ध भएको दाबी गर्दै मध्यावधी निर्वाचनको माग गर्दै आएका छन्।
यद्यपि खानले विदेशी शक्ति भनेर सङ्केत गरेको अमेरिका र वर्तमान् प्रधानमन्त्री सरिफले उक्त आरोपको खण्डन गर्दै आएका छन् । वर्तमान् सरकारले अर्को निर्वाचन सन् २०२३ मा तोकिएकै मितिमा हुने बताएको छ ।
खानले गत महिनाको अन्त्यतिर पूर्वी शहर लाहोरबाट इस्लामावादतर्फ विरोध प्रदर्शन शुरू गरेका थिए । विरोध अभियानका क्रममा केही हप्ता पहिले उनको गाडीलाई लक्षित गरी गोली चलाउँदा घाइते भएपछि खानले व्यक्तिगत रूपमा अभियानको नेतृत्व गर्न असमर्थ बनेका थिए ।
उक्त आक्रमणमा खानका एक समर्थकको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । बन्दूकधारी आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
शनिबार राति इस्लामावाद नजिकैको रावलपिण्डी शहरमा खान पुनः विरोध प्रदर्शनमा सामेल हुँदै बिधान सभाबाट बाहिरिने घोषणा गरेका हुन्।
उनले आफ्ना हजारौं समर्थकलाई आफ्नो तेहरीक–ए–इन्साफ पार्टीले सबै क्षेत्रीय र राष्ट्रिय सभाहरू छोडेर यो ‘भ्रष्ट प्रणाली’ नसच्चिँदासम्म यसबाट बाहिर निस्केको बताए ।
उनको पार्टीका सांसदले गत अप्रिलमा नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुनुअघि नै सामूहिक रूपमा विधान सभाबाट राजीनामा दिएका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






