चन्दा संकलन गरेर पोखरा बहुमुखी क्याम्पसले बनायो भवन


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित




पोखरा । चन्दा संकलन गरेको भरमा यहाँको पोखरा बहुमुखी क्याम्पसले सुविधासम्पन्न भवन ठड्याएको छ । पोखरा महानगरपालिका–९ नयाँबजारमा लामो सयमसम्म सञ्चालनरत यो क्याम्पस बुधबार ३६औं वार्षिकोत्सवको अवसर पारेर पोखरा–९ शान्तिवनमा रहेको भवनमा सरेको छ ।

वार्षिकोत्सवका अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरेको क्याम्पसले बुधबार नयाँ भवनमा सर्नुअघि पञ्चेबाजा बजाउँदै नगर परिक्रमा गरेको थियो ।

वार्षिकोत्सव नयाँ भवन प्रवेशको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले क्याम्पस परिवारसँगै आफु पनि हर्षविभोर भएको बताए । पोखरा बहुमुखी क्याम्पस गण्डकी प्रदेशकै पहिलो सामुदायिक क्याम्पस हो ।

‘पोखराकै इतिहास बोकेको क्याम्पसले धेरै दुख खेप्यो’ मन्त्री थापाले भने, ‘अहिले बल्ल अब्बल बन्दैछ । अब आफ्नै भवन पाएको छ । दुलही भित्रिए झैं क्याम्पस नयाँ भवनमा भित्रिएको देख्दा म साँच्चै खुशी छु ।’

उनले आगामी दिनमा क्याम्पसलाई आवश्यक सहयोग गर्न सदैव तयार रहेको उल्लेख गरे । ‘म पदमा रहेपनि वा नरहेपनि क्याम्पसका लागि आवश्यक सहयोग सधैं हुनेछ,’ उनले भने । थापाले क्याम्पसको पाठ्यक्रममा प्रयोगात्मक र समायानुकुल विषय थप गर्न आग्रह समेत गरे ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस आफ्नै भवन सर्नुमा सम्पूृर्ण पोखरेलीको साथ र सहयोग रहेको बताए । उनले सबैंको साथ र सहयोगको भरमा क्याम्पसले पूर्वाधार बनाएको बताए । अझै एकतला थप्ने योजना रहेको र त्यसका लागि पनि सहयोगको अपेक्षा गरेको उनले बताए ।

‘क्याम्पसको भवन बनाउन निर्माण समिति आफ्नै खर्चमा जुटेको थियो । सम्पूर्ण मनकारीको भरमा यो संस्थाले गति लिएको हो,’ उनले भने । सोहीक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले ३६ औं वार्षिकोत्सव ‘विशेष’ भएको धारणा राखिन् ।

भौतिक संरचनाको अभावमा नयाँ विषय थप गर्न समस्या भइरहेको उल्लेख गर्दै पराजुलीले आगामी शैक्षिकसत्रदेखि क्याम्पसले थप संकाय सुरु गर्ने जनाइन् । ‘सबैको साथ, सहयोग रह्यो’ पराजुलीले भनिन् ‘विभिन्न संस्था, चन्दादाताकै भरमा यो क्याम्पसले भौतिक पूर्वाधार तयार पार्न सकेको हो ।’

तत्कालीन नगर पञ्चायत, जिल्ला पञ्चायत, उद्योग वाणिज्य संघ, अञ्चलाधीश कार्यालय, समाज सेवी, शिक्षाप्रेमीको अगुवाइमा यो क्याम्पस २०४४ साल मंसिर १४ गते पोखरा–१ टुँडिखेलमा स्थापना भएको थियो । पोखराको एकमात्र पृथ्वीनारायण क्याम्पसले विद्यार्थीको चाप थेग्न नसकेपछि तत्कालिन अवस्थामा पोखरा बहुमुखी क्याम्पस स्थापना भएको थियो ।

सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ यो क्याम्पस संचालनमा आएको हो । गण्डकी प्रदेशको पहिलो सामुदायिक यो क्याम्पसले अहिले चारवर्षे स्नातक तहमा मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराइरहेको छ ।

टुँडीखेलमा सुरु भएको क्याम्पलाई पूर्वाधार अपुग भएपछि २०५९ मा तत्कालीन महेन्द्र निमाविको हाताभित्र स्थानान्तरण भएको थियो । लामो समयसम्म महेन्द्र माविबाटै क्याम्पस संचालन भएकोमा क्याम्पस स्थापनाको दिन पारेर पोखरा महानगरपालिका–९ शान्तिवनबाटिका स्थित नयाँ भवनबाट अबका सबै शैक्षिक गतिविधि संचालन हुने उनले बताईन ।

क्याम्पस प्रमुख पराजुलीका अनुसार अहिले अहिले अपांग तथा प्रविधिमैत्री सुविधासम्पन्न भवन बनेको छ । पाँचकरोड रुपैयाँ भन्दा बढि लगानीमा सुविधासम्पन्न भवन बनको उनले बताईन । चार रोपनी क्षेत्रफल जग्गामा अहिले क्याम्पसको २३ कोठे पक्की भवन बनेको छ । क्याम्पसले सुरुदेखि नै मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको थियो ।

सुरुमा प्रवीणता प्रमाणपत्र तहमा अध्यापन गराएको यो क्याम्पसले २०६० देखि स्नातक तहतर्फ बिबिएस र बिएका कक्षा संचालन गर्दै आएको छ । हाल चारवर्षे बिए र बिबिएसमा यहाँ अध्यापन हुन्छ । क्याम्पसमा अहिले ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालय अनुदान आयोगले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्नका लागि सम्पूर्ण विश्वविद्यालय र मातहतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) मा जानुपर्ने प्रावधान तय गरे अनुसार यो क्याम्पसले पनि प्रक्रिया अघि बढाएको प्रमुख पराजुलीले जानकारी दिईन ।

वार्षिकोत्सवका अवसरमा क्याम्पसका शैक्षिक गतिविधि समेटिएको बुलेटिन पनि विमोचन गरिएको थियो । उत्कृष्ट कर्मचारी र प्राध्यापकलाई पनि वार्षिकोत्सव अवसरमा सम्मान गरिएको थियो । त्यस्तै क्याम्पसले चन्दादाताहरुलाई सम्मान गरेको छ भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

त्यसैगरि वार्षिकोत्सवक अवसरमा आयोजित छात्रा भलिवल प्रतियोगितामा प्रथम र द्वितीय स्थान ओगट्ने विद्यालयलाई पनि पुरस्कृत गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।