पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७९ मा प्रकाशित




पोखरा । अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपत्कालीन उद्धार अभ्यास गरेको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्वास्थ्यकर्मीलगायत गरी छ सय जना उद्धार अभ्यासमा सहभागी भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता अनुप जोशीले बताए ।

उनका अनुसार यस्तो खालको उद्धार अभ्यास हरेक दुई–दुई वर्षमा गर्ने गरिए पनि विमानस्थल सञ्चालनमा ल्याउनुअघि पहिलोपटक गरिएको हो । जोशीले भने, “विमानस्थलमै जहाज दुर्घटना भएको अवस्थामा उद्धारका कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पूर्वअभ्यास गरिएको हो । घटनापछि त्यसलाई कसरी ‘ह्याण्डल’ गर्ने र जनधनको क्षति कमका लागि यस्ता अभ्यासले सघाउ पुग्दछ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) गत मङ्सिर ५ गतेदेखि १२ गतेसम्म गरिएको थियो । यान्त्रिक उडान परीक्षणको प्रतिवेदन प्राप्त भइनसकेको प्रवक्ता जोशीले बताए ।

विमानस्थल सञ्चालनको चुनौतीका रूपमा रहेको रिठ्ठेपानीडाँडा कटानको काम सुरु भए पनि ल्याण्डफिल साइट स्थानान्तरण अझै हुनसकेको छैन । रिठ्ठेपानीको ४० मिटरमध्येमा १४ मिटर काटिसकिएको र बाँकी अवधिमा सबै काम सम्पन्न हुने विश्वास रहेको प्राधिकरणले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।