समानुपातिक सांसदहरुको सूची सच्याउन दलहरुलाई २ दिन समय


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिकतर्फको सांसदहरुको सूची सच्याउन भोलि (सोमबार)सम्मको समय दिएको छ।

समानुपातिक सिद्धान्त र क्लस्टरअनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले दलहरुलाई आज (आइतबार र भोलि (सोमबार) समय दिएको हो।

आयोगको तालिकाअनुसार दलहरुले शनिबार सामानुपातिकतर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए। ती नामावलीभित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ। दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ।

निर्वाचन आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ। यदि क्लष्टर नमिलेको भए सच्याएर पुन: पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

निर्वाचन आयोगका अनुसार दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीभित्रैबाट नाम परे–नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए–नभएको छानबिन गरिने छ।

समानुपातिक सिद्धान्त अनुसार भए–नभएको छानबिन गरी प्रमाणित गर्ने काम सकेर अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिनेछ। निर्वाचन आयोगका अनुसार २९ मंसीरमा राष्ट्रपतिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने तयारी गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।