तनहुँका पत्रकारका लागि १० लाखको बीमा


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७९ मा प्रकाशित




व्यास नगरपालिका कार्यालयले जिल्लामा कार्यरत सक्रिय पत्रकारका लागि १० लाख रुपैयाँ बराबरको दुर्घटना र स्वास्थ्य बीमा गरिदिने भएको छ।

गत वर्षदेखि पत्रकारको बीमा सुरु गरेको नगरपालिकाले यस वर्ष पनि त्यस कार्यलाई निरन्तरता दिन लागेको हो ।

नगरपालिका कार्यालयले गतवर्ष जिल्लाभरिका ६५ जना पत्रकारको प्रतिपत्रकार १० लाख रुपैयाँ बराबरको बीमा गरिदिएको नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिएका छन्।

नगरपालिका कार्यालयले ९ लाख रुपैयाँको दुर्घटना र १ लाख रुपैयाँ बराबरको औषधि बीमा गरिदिएको उनले बताए।

व्यास नगरपालिका कार्यालयले जिल्लाका संचारकर्मीहरुका लागि लोककल्याणकारी विज्ञापन र स्वास्थ्य बीमा कार्यमा सहयोग गर्दै आएको छ।

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको सिफारिसका आधारमा यस वर्ष पनि क्रियाशील पत्रकारको बीमालाई निरन्तरता दिन लागिएको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिएका छन्। रिपोर्टिङको सिलसिलामा यत्रतत्र कुदिरहने पत्रकारलाई सुरक्षा प्रदान गर्ने उद्देश्यअनुरूप नगरपालिकाले निर्णय गरी उक्त सुविधा प्रदान गर्न लागेको नगरप्रमुख न्यौपानेको भनाई छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।