कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छः महामन्त्री थापा


     एभरेस्ट आवाज    
     पौष २ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताएका छन् ।

आज काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ ले यहाँ आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उनले नागरिकले खोजेको परिवर्तनलाई मध्यनजर गर्दै कांग्रेसले सकारात्मक सोचका साथ नयाँपन दिनसक्नुपर्ने बताएका हुन् ।

“अब केही दिनभित्रै सरकार बनाउनुपर्नेछ भने राष्ट्रपतिको निर्वाचन पनि आएको छ”, उनले भने, “राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना गरेको छ सोही मर्मलाई ध्यानमा राख्नुपर्नेछ ।” आफू नयाँ अवधारणा र सोचका साथ सामाजिक काम गर्ने तयारीमा रहेको र त्यसको सुरुवात काठमाडौँ क्षेत्र नं ४ बाट हुने उनको भनाइ छ ।

काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा १ मा निर्वाचित प्रदेशसभा सदस्य श्रीराम लामिछानेले निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिबद्धतालाई पाँच वर्षभित्र पूरा गर्ने जिकिर गरे । काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ का पार्टी सभापति रामप्रसाद लुइँटेलले चुनावी घोषणापत्रलाई पाँच वर्षसम्म ध्यान दिएर जनतासँग गरेका बाचा पूरा गर्न सुझाव दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।