म्याग्दी । म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति त्यहाँका किसान आकर्षित भएका छन् ।
विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ ।
फापर छर्ने समय भदौ, असोज र कात्तिक तथा फापरको फूल फुल्ने समय कात्तिकदेखि मङ्सिरमा अनुकूल मौसम भएका कारण फापर उत्पादन बढेको किसानले बताएका छन् ।
म्याग्दीको लेकाली क्षेत्र र मुस्ताङका अधिकांश बारी र सिँचाइ नहुने तथा सुक्खा टारी खेतमा लगाइएको मिठे, तितेलगायत स्थानीय जातका फापर बालीमा दाना राम्रैसँग लागेपछि किसान खुसी भएका छन् ।
अन्य अन्नबालीको तुलनामा फापरका लागि धेरै मेहनत गर्न नपर्ने र गोडमेलको झन्झटसमेत नहुने भएकाले धान र गहुँको तुलनामा फापरखेती गर्नका लागि किसानले सजिलो मान्दै आएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । ग्रामीण भेगमा किसानले फापरको रोटी र ढिँडोजस्ता परिकार खाने गरेका छन् ।
पछिल्लो समयमा सहर बजार क्षेत्रमा समेत ठूला होटलमा फापरको ढिँडो र रोटी बढी प्रचलनमा छ । फापरको पिठो मानव स्वास्थ्यका लागि उपयोगी हुनेमात्र होइन फापरको छवाली घाँस घर पालुवा गाई भैँसीका लागि पौष्टिक मानिने र फापरको भुस पनि खेर नजाने भएकाले खेतीमा किसानले जोड दिएको उनको भनाइ छ ।
फापरको पिठो गहुँ, मकै, कोदो र चामलको पिठोमा मिसाएर रोटी–ढिँडोलगायतका परिकार बनाएर खाने गरिन्छ । फापरको पिठो प्रतिकिलो रु दुई सयदेखि रु तीन सयसम्ममा बिक्री हुँदै आएको छ ।
फापरको पिठो विभिन्न खालका औषधिमा समेत प्रयोग गरिन थालेको छ । बेनी नगरपालिकासहित छवटै स्थानीय तहमा फापरखेती हुने गरेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







