राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले राससजस्तो संस्थाको पहिलो दायित्व जनताप्रति नै हुने बताएका छन। नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको आज यहाँ आयोजित वार्षिक साधारण सभामा उहाँले नेपालको समाचार नेपालीको रासस अभियान चलाउनुपर्नेमा जोड दिए ।
“व्यवस्थापनले समाचारको गुणस्तरीयता वृद्धिमा ध्यान दिएको छ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला राससले २४ सै घण्टे सेवा पूरा गरेको छ, पत्रकारिता सामूहिक कार्य भएकाले त्यसअनुरुप काम गर्ने वातावरण बनाएका छौँ”, महासङ्घको पूर्वध्यक्षसमेत रहेका कार्यकारी अध्यक्ष झाले भने । रासस सञ्चालक समितिबाट विनियम संशोधनको निर्णय भएको उल्लेख गर्नुहुँदै उनले छलफलको प्रक्रियाबाट त्यसलाई अन्तिम रुप दिइने बताए ।
राससका महाप्रबन्धक सिद्धराज राईले राससकर्मी आफ्ना कर्तव्यप्रति सचेत रहेको उल्लेख गर्नुहुँदै यसमा महासङ्घले पनि रचनात्मक गतिविधि बढाएर सहयोग गर्नुपर्नेमा जोड दिए । महासङ्घ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले राससमा श्रमजीवी पत्रकारका समस्या नआउने विश्वास व्यक्त गर्नुहुँदै नेपाली पत्रकारिताको ऐनाका रुपमा रासस स्थापित भएको बताए । प्रतिष्ठान प्रदेश समितिले महासङ्घका पूर्वध्यक्षको व्यक्तिवृत्त (प्रोफाइल) तयार पार्न लागेको जानकारी पनि उनले गराए ।
कार्यक्रममा रासस सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारी, प्रधानसम्पादक एकराज पाठक, महासङ्घका पूर्वसचिव एवं रासस प्रशासन शाखा प्रमुख शीतलप्रसाद महतो, महासङ्घ रासस प्रतिष्ठान शाखाका पूर्वध्यक्ष सूर्यचन्द्र बस्नेत, रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाइँ र सदस्य कृष्ण सापकोटालगायत राससमा क्रियाशील सङ्घ, संस्थाका प्रतिनिधिले राससको समाचार सेवाका विषयमा विस्तृतरुपमा छलफल गरिनुपर्ने आवश्यकता औँल्याए । महासङ्घ रासस प्रतिष्ठान शाखाको बन्दसत्रले सचिव छविलाल कुमाल र कोषाध्यक्ष दिलीप अधिकारीको प्रतिवेदन पारित गर्दै रचनात्मक गतिविधिका लागि कोष वृद्धि गर्ने निर्णय गरेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







