काठमाण्डौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणपछि पौडेलले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि आफूले काम गर्ने बताएका हुन् । “अर्थतन्त्रका अहिलेका चुनौतीहरू के हुन् ? ती चुनौती सिर्जना हुनुको कारण के हो ? त्यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के हुन् ? र तिनको समाधानका लागि के कदम चाल्नुपर्छ ? भन्ने विषयमा सबै क्षेत्रका विज्ञसँग सघन छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो, “अर्थतन्त्रका समस्या पहिचान गर्ने र त्यसको समाधान गर्ने आत्मविश्वासका साथ यो जिम्मेवारीमा आएको छु ।”
अर्थतन्त्रलाई लयमा फर्काउन विगतका अनुभवबाट पाठ लिने तथा अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्र र विज्ञहरूसँग राय सल्लाह लिएर अघि बढ्ने उनको भनाइ छ । त्यस्तै, नेपालको अर्थतन्त्र सम्हाल्नै नसकिने अवस्थामा पुगिनसकेको पनि उनले बताए ।
“अर्थतन्त्रका अघि देखा परेका चुनौतीहरू काबु बाहिर छैनन् । तिनलाई समाधान गर्न सकिन्छ । राष्ट्रिय अर्थतन्त्रलाई सबल ढङ्गले अघि बढाउन सकिन्छ भन्ने विश्वास पनि दिलाउन चाहन्छु”, पौडेलले भने । सार्वजनिक खर्चको दायरालाई कसरी कम गर्ने र पूँजीगत खर्च कसरी बढाउन सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने पनि उनको भनाइ छ ।
दलहरूको भागबन्डामा परेर आफू अर्थमन्त्री बनेको नभई निर्वाचनपछि जनताले दिएको जिम्मेवारी पूरा गर्न आएको पनि उनको भनाइ छ । “हामी भागबण्डामा होइन कर्तव्य निर्वाहमा विश्वास गर्छौं । निर्वाचनको नतिजास्वरूप यो सरकार बनेको हो र मुलुकलाई नेतृत्व गर्ने अभिभाराअनुसार हामी आएका हौँ”, उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने ।
जिम्मेवारी सम्हाले लगत्तै पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायको कार्यसम्पादनलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । उनले आफ्नो पहिलो निर्णयका रूपमा अर्थमन्त्रालय र अन्तर्गतका निकायको कार्यसञ्चालन व्यवस्थापन प्रणालीलाई डिजिटलाइजेसन गर्नेसम्बन्धी निर्णय गरेका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





