चलचित्रमा पुनरागमन गर्दै नायिका विपना थापा


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७९ मा प्रकाशित




भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ ।

चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ । “हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायाङ्कन थाल्छौँ”, निर्मात्री ढुङ्गानाले भनिन् ।

चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापा ‘जन्मभूमि’ मार्फत स्थापित भएकी थिइन् । झण्डै ७० वटा चलचित्रमा अभिनय गर्नुभएकी नायिका थापाले पछिल्लो पटक २०६७ सालमा चलचित्र ‘सङ्घर्ष जिन्दगीको’ मा अभिनय गरेकी थिइन् ।

चन्द्र पन्तको निर्देशन रहने चलचित्र ‘ह्स्व दीर्घ’मा कलाकार ब्रह्मानन्दम, प्रदीपरामसिंह रावत, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ । “विश्वभर प्रदर्शन गर्न लायक बनाउन हामीले केही भारतीय र नेपाली कलाकारलाई साथमा लिएर चलचित्र बनाउँदै छौँ । यसमा भारतीय प्राविधिकसमेत रहनेछन्”, निर्देशक पन्तले भने । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।