गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य बस्यालले लिए सपथ


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७९ मा प्रकाशित




पोखरा, पुस १३

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य पर्वत प्रदेश सभा २ बाट निर्वाचित एमाले सांसद मित्रलाल बस्याललाई बुधबार पूर्वाह्न ११ बजे पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । प्रदेश सभा सदस्य मध्ये ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम पद तथा गोपनीयताको सपथ खुवाउनुपर्ने प्रावधान रहेको छ ।

ज्येष्ठ सदस्यको हैसियतमा सपथ लिएका बस्यालले अन्य प्रदेश सभा सदस्यहरुलाई विहीबार पद तथा गोपनीयताको सपथ खुवाउनेछन् । सपथका लागि प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभा भवन नदीपुरमा विहीबार दिउँसो १ बजे बोलाइएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र नेकपा एकीकृत समाजवादीको १ सांसद रहेको छ । गण्डकीमा हालै बनेको गठबन्धनको बहुमत रहेको छ । एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सांसद रहेकाले यहाँ सरकार बनाउन सहजै बहुमत पुग्छ ।

तर गण्डकीमा सरकार गठनको प्रक्रिया शुरु भइसकेको छैन । गण्डकीमा कुनैपनि दलको एकल बहुमत नपुगेकाले प्रदेश प्रमुखले निश्चित समय दिएर दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनका लागि आह्वान गर्नुपर्ने हुन्छ । यसरी दुई वा दुई भन्दा बढी दल मिलेरपनि सरकार बनाउन नसकेको खण्डमा मात्रै ठूलो दलको हैसियतमा सरकार बनाउने बाटो खुल्छ ।

यसैबीच, प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेका लागि गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिसकेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले प्रदेश सभा सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

त्यस्तै, प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरु प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई सपथ खुवाउँदै ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।