तनहुँमा अठ्ठाइस २८ करोडको सुन्तला उत्पादन


     एभरेस्ट आवाज    
     पौष १७ गते २०७९ मा प्रकाशित





तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक हजार चार सय ८० हेक्टरबाट नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको तिवारीले बताए।

अघिल्लो वर्ष रु २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यसवर्ष एक हजार चार सय ६० हेक्टर क्षेत्रफलबाट नौ हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौँडा, खैरेनीटार, भीमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमतिलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

म्याग्दे–२ उमाचोकका सुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी, रामबहादुर अधिकारी लगायतले वार्षिक लाखौँ मूल्य बराबरका सुन्तला बिक्री गर्दै आएका छन । देवघाटा–३ छिपछिपेका भीम रानाले यसवर्ष रु ३२ लाख बराबरको सुन्तला बिक्री गरेका छ । व्यास–१३ बेनीकोटका विकास थापाले यसवर्ष रु आठ लाखको सुन्तला बिक्री गरेका छन । 

आँबुखैरेनी–२ मार्कीचोकका सोलबहादुर चितौरेले यसवर्ष रु तीन लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन । 

राजनीतिसँगै सुन्तलाखेती

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे राजनीतिसँगै सुन्तलाखेतीमा आबद्ध छन । विसं २०५३ देखि सुन्तलाखेतीमा आबद्ध रहेका घिमिरेले कृषिसँगै राजनीतिलाईसँगै अगाडि बढाइराखेका छन ।

देशमा उत्पादन र जीविकापार्जनका लागि वातावरण नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा उपाध्यक्ष घिमिरे भने सुन्तलाखेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन । घिमिरेले सुन्तलाखेतीबाट वार्षिक रु २० लाख आम्दानी गरिरहेका बताए । घिमिरेको सुन्तलाफार्ममा अहिले आठ सय ५० सुन्तलाका बोट छन् । म्याग्दे–२ जोगीथुममा सुन्तलाखेती गरिरहेका घिमिरेले यस वर्ष रु २० लाखको सुन्तला बिक्री गरेको जानकारी दिए । 

विसं २०३५ मा कृषिको जेटिए अध्ययन गरेका घिमिरे आठ वर्षसम्म शिक्षक पेसामा संलग्न छन । नेपाली कांग्रेसका नेता घिमिरे विसं २०४९ मा गाउँ विकास समितिको अध्यक्ष बनेका छन । “राजनीतिसँगै सुन्तलाखेतीलाई अगाडि बढाइरहेको छु, हरेक व्यक्ति उत्पादनसँग जोडिनैपर्छ”, घिमिरेले भने । नेपालको हावापानी उर्वर रहेको जनाउँदै घिमिरेले कामप्रति इमान्दार रहने हो भने आत्मनिर्भर बन्न गाह्रो नभएको उल्लेख गरे । “यति राम्रो उर्वरभूमि छाडेर हामी भने मरुभूमिमा भविष्य खोजिरहेका छाँै, योभन्दा नराम्रो पक्ष के हुनसक्छ”, उनले भने ।

परिश्रम नगर्ने तर तत्काल फल खोज्ने परिपाटीले परनिर्भर बनेको जनाउँदै घिमिरेले भने, “विदेशमा गर्ने दुःख नेपालमा मात्र गर्ने हो भने नेपाल जस्तो स्वर्ग देश अन्त छैन ।” सुन्तला खेती गरेर आर्थिक रुपमा सबल बनेको जनाउँदै घिमिरेले सुन्तलाखेतीबाट सन्तुष्टि मिलेको बताए । “सुन्तला फार्ममा आएर काम गर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ, हरियाली र लटरम्म फलेका सुन्तला देख्दा आनन्द आउँछ”, उनी भन्छन ।

सुन्तलाखेतीका लागि गाह्रो नभएको बताउँदै छ महिना यसको हेरचाह गर्ने हो भने वर्षदिनलाई मनग्य आम्दानी हुने घिमिरेको अनुभव छ । उनी भन्छन, “सुरुका तीन वर्ष यसको बढी रेखदेख गर्नुपर्दछ, अनि फल दिइसेकपछि लामो समयसम्म यसबाट आम्दानी लिन सकिन्छ ।” फार्ममा आएर काम गर्दा फूर्तिलो र नवीन सोचको विकास हुने घिमिरेले बताए । “बर्सेनि रु २० लाखको सुन्तला बिक्री गर्दै आएको छु, सुन्तला बिक्रीका लागि कुनै समस्या छैन, देशभरबाट सुन्तला खरिदका लागि अग्रिम बुकिङ हुन्छ”, उनले भने ।

सुन्तला खेती अवलोकनका लागि विभिन्न स्थानबाट मानिस आउने गरे पनि स्थानीयले भने कृषिको महत्व नबुझेको घिमिरे बताउछन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा जित हासिल गरेका घिमिरेले यस पटकको स्थानीय तह निर्वाचनमा पुनः उपाध्यक्षमा विजय प्राप्त गरेका छन । घिमिरेले सुन्तलाखेतीका अलवा इँटाभट्टा व्यवसायबाट पनि थुप्रैलाई रोजगारी दिइरहेका छन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।