गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीले गरे दाबी पेश


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७९ मा प्रकाशित




पोखरा । नेकपा एमालेका खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले दिएको समयसीमा सोमबार अपराह्न ४ बजेको दिएका थिए ।

उनले सो समय सकिन करीब डेढ घण्टा बाँकी छँदा दाबी पेश गरे । एमाले, माओवादी, राप्रपा र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङेको मिर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

अधिकारीले नेकपा माओवादी केन्द्र गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानको प्रस्ताव र राप्रपाका पञ्चराम तमुको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरे ।

प्रदेश प्रमुख गुरुङले आजै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । त्यसलगत्तै सपथको समय तोक्ने तयारी रहेको प्रदेश प्रमुखको निजि सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीमा दाबी पेश गरेका अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन् । पूर्व गृह तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उनी नेकपा एमालेका संगठन विभाग प्रमुख पनि हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसदसहित बहुमत छ । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको २७ सांसद छन् । ठूलो दल भईकनपनि कांग्रेस प्रतिपक्षी दल बनेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।