गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७९ मा प्रकाशित




पोखरा, पुस २५

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री अधिकारीले आजै साँझ सपथ लिने बताइएको छ ।

मुख्यमन्त्रीमा नियुक्त अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन् । पूर्व गृह तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उनी नेकपा एमालेका संगठन विभाग प्रमुख पनि हुन् ।

यसअघि अधिकारीले आजै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार प्रदेश प्रमुख गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङले दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले दिएको समयसीमा सोमबार अपराह्न ४ बजेको दिएका थिए । उनले सो समय सकिन करीब डेढ घण्टा बाँकी छँदा दाबी पेश गरे । एमाले, माओवादी, राप्रपा र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङेको मिर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसदसहित बहुमत छ । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको २७ सांसद छन् । ठूलो दल भईकनपनि कांग्रेस प्रतिपक्षी दल बनेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।