पोखरा, २७ पुस
पोखराको अमरसिंहचौरमा पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा बुधबारदेखि पोखरा महोत्सवको एघारौं संस्करण शुरु भएको हो । माघ ९ गतेसम्म जारी रहने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।
उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले कोरोनापछि थलिएको अर्थतन्त्र चलायमान गराउन भूमिका खेल्ने बताए । स्थानिय उत्पादनलाई बजारीकरण गर्न महोत्सवले सघाउँछ,उनले भने,‘अनि कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्नपनि यस्तो महोत्सवले महत्वपूर्ण योगदान दिन्छ ।’
तेह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेका छन् । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकलाका सामानहरुको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवम् जानकारी, ब्यवसायीक संघसंस्थाहरुको सेवाबारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामग्रीहरुको प्रदर्शनी एवम् जानकारीलगायतका स्टलहरु राखिएका छन् । यसैगरी, पोखरालगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवम् जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती सँगै कृषिका गतिविधीहरु पनि महोत्सव स्थलका स्टलमा रहनेछन् ।
महोत्सवमा दिउँसो लोकदोहोरी, साँझमा लाईभ कन्सर्ट आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ । दिउँसोको लोकदोहोरीमा बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, रामजी खाँड प्रिती आले, चोलेन्द्र पौडेल, ज्योती मगर, राजु परियार, चिज गुरुङ, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, आलिफ खान लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजक युनाइटेड क्लव पोखराका महासचिव तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक दीनेश सुनारले जानकारी दिए ।
यसैगरी, साँझको कन्सर्टतर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, छेवाङ लामा, भिटेन, मेलिना राई, दिक्षिता कार्की, झिल्के एण्ड द कम्पनी, अनुप्रस्थ, अभय एण्ड द स्टीम इन्जीन्स, एएसएमसहित लोकल ब्याण्डहरुको प्रस्तुती रहने उनले बताए । हाँस्य ब्यंस्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुपनि महोत्सवको आकर्षणका रुपमा रहने महासचिव सुनारले बताए ।
महोत्सवको मुख्य आकर्षणका रुपमा घोड सवार र टिकटक प्रतियोगिता आयोजना हुने क्लवका संस्थापक अध्यक्ष हिमालय बर्खेलले जानकारी दिए । त्यसका अलावा लेखनाथको पचभैयामा निर्माणाधीन चिडियाखाना अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था, ‘भिआर नाइन डी’लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु पनि महोत्सवमा विशेष आकर्षणका रुपमा रहने उनले बताए ।
महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउउने, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने महोत्सवको उद्देश्य रहेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । त्यस्तै, अर्थतन्त्र चलायमान गराउँदै रोजगार सिर्जना गर्ने, क्षेत्रगत विकासमा टेवा पु¥याउने, उद्योगको प्रवद्र्धन गर्ने, कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सघाउनेपनि महोत्सवको उद्देश्य रहेको उनले बताए ।
रवि एण्ड सन्नी ईण्डष्ट्रिज प्रालिको बेटर होम अप्लाईन्सेसको मुख्य प्रायोजनमा शुरु भएको महोत्सवको दुई लाख पचास हजार दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







