गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत, विपक्षमा २७ मत


     एभरेस्ट आवाज    
     पौष २९ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश सभाका नवनियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएका हुन् । गण्डकी प्रदेश सभामा शुक्रबार गरिएको प्रस्तावमा उनले ३१ मतसहित विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री अधिकारीलाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ सदस्यले विश्वासको मत दिए । विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २७ सदस्यले मत हाले । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका एक जनाले ज्येष्ठ सदस्यको नाताले प्रदेश सभाको अध्यक्षता गरेकाले मत हाल्न पाएनन् भने स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ मनाङे अनुपस्थित रहे । मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका मनाङेले मन्त्री बनाउने संकेत नपाएपछि विश्वासको मत नदिने घोषणा गरेका थिए । उनले विहीबार साँझ सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै सरकार बनाउन एमाले गठबन्धनको पक्षमा हस्ताक्षर गरेपनि बहुमत पुगेर विश्वासको मत प्राप्त गर्ने स्थिति भएकाले विश्वासको मत लिने समयमा आफू विपक्षमा बस्ने घोषणा गरेका हुन् ।

प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री अधिकारीले संघीयता बलियो बनाउनका लागि सिंगो संसद उभिनुपर्ने भएकाले आफूलाई मत दिन विपक्षी कांग्रेसलाईपनि आग्रह गरे । संघमापनि शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड एक भएर विश्वासको मत दिएको उदाहरण दिदै उनले भने,‘हाम्रो उद्देश्य भनेको संघीयता बलियो बनाउनु हो । सबैले देखिने र महशुष गर्ने प्रदेश बनाउनु हो । प्रदेशको विकास र समृद्धि गर्नु हो । त्यसैले यसमा पक्ष र विपक्षमा नउभिई मलाई विश्वासको मत दिन गठबन्धनका दलहरुसँगै कांग्रेसलाईपनि विनम्रतापूर्वक आग्रह गर्दछु ।’ उनले प्रतिपक्षीलाई पाखा लगाएर नभई छलफल, सम्वाद र परामर्श गरेरै हरेक काम गर्ने प्रतिबद्धतापनि जनाए ।

मुख्यमन्त्रीले विश्वासको मत मागेपनि कांग्रेसले भने विश्वासको मत दिएन । विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा भाग लिदै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीले राखेको प्रस्ताव मन परेपनि मत दिन नसक्ने बताए । विश्वासको मत नदिदैमा भोलिका दिनमा सहकार्यमा बाधा नपुग्ने बताउँदै उनले भने,‘मुख्यमन्त्रीले गरेका वाचा र प्रतिबद्धताले मनचाहिं दिन सकिने भयो तर मतचाहिं दिन सकिने भएन ।’ नेता पाण्डेले संघीयता बलियो बनाउन, प्रदेशको विकास र समृद्धिका लागि आफूहरु सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । तर त्यसका लागि सरकारले नै अग्रसरता देखाउनुपर्ने उनको भनाई थियो । संघीयतामाथि प्रश्न उठिरहेकाले यसलाई बलियो बनाउन सिंग गण्डकी प्रदेश सभासँगै सातै प्रदेशलाई साथमा लिएर अगाडि बढ्न नेता पाण्डेले मुख्यमन्त्रीलाई सुझाव दिए ।

नेता पाण्डेले प्रतिपक्षी भयो भन्दैमा हरेक कुरामा विरोध गर्ने पक्षमा आफूहरु नरहेको बताए । सरकारले विश्वासमा लिन सक्नुपर्छ,–उनले भने,‘राजनीतिक दाउपेच, लुछाचुँडी भयो भनेचाहिं फेरी हामीपनि त्यहि अनुसार अघि बढ्छौं ।’ मुख्यमन्त्रीलाई गलत बाटो नहिंड्न चेतावनी दिदै उनले थपे,‘मुख्यमन्त्री ज्यू खेलचाहिं खेल्नुहोला तर फलचाहिं नखेल्नुहोला । किनकी तपाईं संघमा पटक÷पटक सांसद र मन्त्री हुनु भएको राष्ट्रिय खेलाडी हुनुहोला, तर डिफेन्डरपनि राष्ट्रिय खेलाडी नै हो भन्ने ख्याल रहोस् ।’

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशलाई आत्मनिर्भर बनाउने चुनौति रहेको बताए । उनले प्रदेश बिना संघीयता असम्भव रहेकाले प्रदेशलाई सबल बनाउन सबै मिल्नुपर्नेमा जोड दिए ।

राप्रपाका संसदीय दलका नेता पञ्चराम तमुले प्रदेशबासीको विकास र समृद्धिको चाहना पूरा गर्नका लागि वर्तमान सरकार सफल हुनैपर्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।