गण्डकीमा सभामुखको निर्वाचन भोलि


     एभरेस्ट आवाज    
     पौष २९ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेश सभाको सभामुख शनिबार चयन हुने भएको छ । सभामुख चयन गर्न गण्डकी प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको हो । प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्नका लागि शनिबार बैठक बोलाएका हुन् ।

गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको छ । सत्ता गठबन्धनको पक्षमा बहुमत भएकाले माओवादी केन्द्रका उम्मेदवार सभामुख हुने निश्चितजस्तै छ । माओवादीले सभामुखमा कृष्ण धिताललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । पार्टीको संसदीय दलको बैठकले धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाईसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । सत्तापक्षको बहुमत भएकाले कांग्रेसबाट सभामुखको उम्मेदवार बन्न कसैलेपनि आकांक्षा देखाएका छैनन् । श्रोत भन्छ,‘अब संसदीय दलको नेताले कसैलाई उम्मेदवार तोकेर नभनेसम्म कोहिपनि उम्मेदवार हुन चाहेको देखिदैन ।’ कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे भने शनिबार विहान सम्ममा उम्मेदवार टुंगो लाग्ने बताउँछन् । ‘हामी छलफलमै छौं । शनिबार विहानसम्ममा उम्मेदवार टुंगो लगाउँछौं’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।