घनश्यामभुसाललाई सचिवालय सदस्यको जिम्मेबारी


     एभरेस्ट आवाज    
     पौष ३० गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मेबारी प्रदान गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नेता भुसाललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सचिवालयको उक्त निर्णयलार्ई आजै बसेको स्थायी कमिटी बैठकले पनि अनुमोदन गरेको छ । नेता भुसालले यही पुस २९ गते स्वघोषणा गरी उक्त पार्टीमा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको अभियानमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेकपा (एमाले)को उपमहासचिवमा निर्वाचित भई पार्टीका विभिन्न तहमा नीति निर्माणमा जिम्मेवारी समेत निर्वाह गर्नुभएका नेता भुसाल पूँजीवाद र समाजवादको विश्लेषक, तथा कम्युनिष्ट पार्टीमा बौद्धिक छवि बनाएका विचारकका रुपमा स्थापित छन् । गत मंसिर ४ मा भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वाम एकताका क्रममा अहिलेसम्म भएका प्रगतिको समीक्षा गरिएको थियो ।

पार्टीले नेपाली कम्युनिष्ट आन्दोलनलाई बलियो शक्तिका रुपमा विकास गर्ने उद्देश्यले समाजवादी कार्यदिशा अँगालेका व्यक्ति, विभिन्न कम्युनिष्ट समूह तथा दललाई एकताबद्ध गर्न सम्बन्धित पक्षसँग वार्ता गरिरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।