जन्म गाउँ रुपामा पाइलट केसीको अर्धकदको शालिक निर्माण गरिने


     एभरेस्ट आवाज    
     माघ ४ गते २०७९ मा प्रकाशित




आइतबार बिहान पोखराको सेती खोँचमा यती एयरलाइन्सको जहाज दुर्घटनामा परी रुपा गाँउपालिकाकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मङ्गलबार केसीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेका हुन् । गाउँपालिकाको बैठकले हिजो साँझ रुपा गाउँपालिकाका सबै वडा कार्यालयमा ७२ वटा दीप प्रज्वलन गरी राष्ट्रिय झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ । गाउँपालिकाले पाइलट केसीको स्मरणमा अर्धकदको शालिक निर्माण गरिने , दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने र केसीको चिनारी सहित स्थानीय पाठ्यपुस्तकमा उनको नाम र कामको विषयमा समावेश गर्ने निर्णय गरेको अध्यक्ष ओझा बताए । अध्यक्ष ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताए ।

केसीलाई रुपा गाउँपालिकाको चौथो स्थापना दिवसको अवसरमा रुपा रत्न सम्मान २०७८ बाट समेत सम्मान गरिएको जानकारी अध्यक्ष ओझाले दिए । स्व. केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुन् । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए ।

यही माघ १ गते काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।