यती दुर्घटना : १० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ ।

माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएका ७१ मध्ये २२ जनाको शव पोखरामा नै परीक्षण गरी आफन्तलाई बुझाइएको थियो ।

काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४९ मध्ये १२ जनाको शव परीक्षण गरी आज सम्बन्धित परिवार र नेपालस्थित कूटनीतिक नियोगमा जिम्मा लगाइएको यती एयरलाइन्सले जनाएको छ ।

जिम्मा लगाइएकामध्ये १० नेपाली र दुई शव कोरियन नागरिकको रहेको छ । पहिचान खुलेका बाँकी शव पनि परीक्षण गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ । पहिचान नखुलेका शवको भने डिएनए परीक्षण गरेर मात्र परीक्षण गरी मृतकका परिवारलाई बुझाइने छ । चालक दलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एकको खोजी जारी रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।