वेभ तस्विर
बर्दघाट । बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । सात पालिका रहेको सो जिल्लामा स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दघाट पहिलो पालिका बनेको जनाइएको छ ।
‘हाम्रो बर्दघाट’ नाम दिइएको स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तकमा स्थानीयस्तरमा रहेका पर्यटकीयस्थल, कला, संस्कृति, प्राकृतिक सम्पदा, भाषा, रहनसहन, अन्न उत्पादन, जडीबुटीलगायत बर्दघाटको समग्र क्षेत्र समेटिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले स्थानीय पाठ्यक्रमले नगरक्षेत्रको शैक्षिक विकास तथा पहिचानमा सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
“हामीले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक पढाइ सुरु गरिएको हो ।”
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक लागू गर्नसक्ने व्यवस्था गरेकाले पाठ्यपुस्तक प्रकाशन गरेर विद्यार्थीलाई अध्ययनका लागि व्यवस्थापन गरिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
सो पाठ्यक्रमको लेखन तथा सम्पादनमा डा घनश्याम न्यौपाने , डा शालिकराम पौड्याल, डा प्रेमप्रसाद तिवारी र शेषकान्त पौडेल रहेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







