पोखरा, माघ १०
गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । गण्डकी प्रदेशमा सरकार गठन भएको करीब आधा महिनापछि मन्त्री परिषदले मंगलबार पूर्णता पाएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । सोहि दिन उनले सत्ता साझेदार तीन दलका एक÷एक जना मन्त्री नियुक्त गरेका थिए । मन्त्री नियुक्त गरेपनि उनीहरुलाई जिम्मेवारी नदिई बिना विभागीय मन्त्री बनाएर राखिएको थियो ।
दलहरुबीच गाण्डकीमा बनाईने मन्त्रालयको संख्या र कसले कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति हुन सकेको थिएन । तर करीब आधा महिनाको रस्साकस्सी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुई÷दुई पटक भेटेपछि मुख्यमन्त्री अधिकारीले मंगलबार मन्त्री परिषदलाई पूर्णता दिएका हुन् । उनले यसअघि १२ मन्त्रालय रहेको गण्डकीमा ५ मन्त्रालय घटाएर ७ मन्त्रालयमा झारेका छन् ।
मुख्यमन्त्री अधिकारीले मंगलबार तीन मन्त्री थप गर्दै मन्त्री परिषद संख्या ७ पु¥याएका छन् । मंगलबार उनले एमालेका दुई र माओवादी केन्द्रका एकसहित तीन मन्त्री थप गरे । उनले एमालका रोशन गाहामगर र वेदबहादुर गुरुङ (श्याम) तथा माओवादी केन्द्रबाट रेशम जुग्गालीलाई मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ नै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका छन् । यसअघि माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम तमु मन्त्री भईसकेका छन् ।
मन्त्री परिषदले पूर्णता पाउँदा एमालेको भागमा परेको आर्थिक मामिला मन्त्रालयमा रोसन गाहा मगर, सीताकुमारी सुन्दासलाई आन्तरिक मामिला तथा कानुन र बेदबहादुर गुरुङ (श्याम)लाई कृषि तथा जलश्रोत मन्त्रालय दिने पार्टीमा सहमति भएको थियो । सो अनुसार नियुक्त भएका मन्त्रीहरु सपथ लिन जाँदै थिए । तर बाटोमा जाँदाजाँदै मुख्यमन्त्री अधिकारीले जिम्मेवारी हेरफेर गर्दै आर्थिक मामिला मन्त्रालय सुन्दासलाई दिएर आन्तरिक मामिला तथा कानून मन्त्रीमा गाहा मगरलाई दिए भने गुरुङको मन्त्रालय यथावत राखेका थिए ।
पार्टीमा भएको सहमति अनुसार मन्त्रालय नपाएपछि सपथ लिन पुगेका गाहा मगर केहिबेर अलमलमा परेका थिए । शुरुमा सपथ नलिने अडानमा रहेका गाहा मगरले अन्तिममा सपथ भने लिएका छन् । यसअघि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलेपनि उनलाई यसरी नै लोप्पा खुवाएका थिए । मन्त्री दिने भनेर बोलाएपछि गृहजिल्ला नवलपुरबाट दुई गाडी आफन्त र शुभचिन्तक लिएर पोखरा आउने क्रममा बाटोमै उनलाई दिने भनिएको जिम्मेवारी अर्कैलाई दिएपछि उनी जिल्ल परेर फर्केका थिए ।
मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र रेशम जुग्जाली मगरलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् भने राप्रपाका पञ्चराम तमुलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा मन्त्रालय संख्या १२ बाट घटाएर ७ मा झारिएको छ । तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकीमा आफ्नो सरकार बचाउन ११ मन्त्रालय बनाएका थिए । मन्त्रालयको संख्या बढाएपनि तत्कालीन गुरुङ सरकार ढलेपछि बनेको वाम–लोकतान्त्रिक सरकारले एक मन्त्रालय थपेर गण्डकीमा मन्त्रालय संख्या १२ पु¥याएको थियो । जसका कारण भागशान्ती गर्न मन्त्रालय बढाएर फजूल खर्च गरेको भन्दै व्यापक आलोचना भयो । सोहि कारण संघीयताको औचित्य माथि नै प्रश्न चिह्न उठाउने र संघीयता खारेजीको आवाजसमेत उठ्न थालेको थियो ।
ताजा जनादेशसँगै एमाले र माओवादीको पुर्नमिलन भएपछि बनेको खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारले मन्त्रालय घटाउने तयारी गरेको थियो । आलोचनाबाट बच्दै आफ्नो सरकारप्रति नकारात्मक दृष्टिकोण नआओस् भन्ने उद्देश्यले अधिकारीले शुरुदेखि नै मन्त्रालय घटाउने बताउँदै आएका थिए । मन्त्रालय घटाउने कुरामा सत्तारुढ दलहरुबीच सहमति भएपनि मन्त्रालय कति बनाउने भन्नेबारेमा मतैक्यता थिएन । मुख्यमन्त्री अधिकारी मन्त्रालय घटाएर सातमा झार्ने योजनामा भएपनि उनकै दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ९ मन्त्रालय बनाउन दवाब दिदै आएका थिए । तर पछिल्लो केहि दिनयता दैनिक रुपमा भएको सघन छलफलले मन्त्रालय संख्या ७ मा झार्ने सहमति भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







