कविता घर्तीमगर , पोखरा । पुष माघ महिनाको जाडो । त्यसो त पुरै कपाडा लगाउदा पनि त्यहाँको चिसोले मुटु नै छुन्छ । आईटिएफ तेक्वान्दोको सेतो पोसाक । कम्मरमा कसैले पहेँलो,कसैका निलो,रातो र कालो वेल्ट बाँधिएका । स-साना ढुंगाका कण र खस्रो माटोको केहि फराकिलो जमिनमा खेलाडी बनेर सपना पुरा गर्न गरिएका यी कठोर संघर्षपुर्ण खाली पैतलाहरु ।

“खेलबाट गाउँको ईज्जत राख्ने । आफुले नाम कमाउने । पैसापनि कमाएर अभिभावकलाई दिने हो,” ११ वर्षिय मन्दिप बुढा मगर भन्छन्, ।” त्यस्तै अर्का १२ वर्षिय खेलाडी दिलिप सुनारले खेलाडी बनेर ठुलो मान्छे बन्ने सपना सुनाउछन्् । पछिल्लो पटक रामेछापमा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा गोल्ड मेडल विजेता १५ वर्षिय आरती छन्त्यालले पनि खेल क्षेत्रबाट योगदान गर्ने लक्ष्य रहेपनि अहिलेसम्म सवै आर्थिक भार आफैले बेहोर्न परेको बताए । “खेलकुदका भौतिक अभावका बावजुत खेल खेलिन्छ उपाधीहरु लिएर गाउँ फर्किन्छौ”,उनले भनिन् ,“तर गाउँमा खेलाडी प्रत्साहन समेत कतैबाट हुदैन दुख लाग्छ, उनले भनिन् ।”
यस्तै यस्तै खेलाडी बन्ने कलिलो बालमस्तिष्कको सपना लिएर खाली पैतला यो कठ्याङग्रिदो जाडोमा प्रशिक्षण लिईरहेका उनीहरुको प्रशिक्षक हुन् १६ वर्षिय गिरिजा विश्वकर्मा ।

निसीखोला गाउँपालिकाको वडा नं. ५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयको प्राङगणमा साँझ र विहानको समयमा आईटिएफ तेक्वान्दोका भर्खर हुर्कदै र बढ्दै गरेका करिव ११ देखि १८ बर्ष उमेर समुहका करिव ४०/४५ जना खेलाडीहरुको सपना र समस्याका दुई पाटोलाई लिएर प्रशिक्षकका रुपमा उभिएका विश्वकर्माको दैनिकी आजकल जहाँ ठाउँ खाली छ त्यहाँ आफ्नो खेलाडीहरु लैजाने र खेलाउन मै वितेको छ ।
१६ वर्षकै कलिलो उमेरमा मुख्य प्रशिक्षकमा रुपमा निसी रिभर आईटिएफ तेक्वान्दो दोजाङका करिव ४५ जना खेलाडीहरुलाई प्रशिक्षण गर्दैछन् विश्वकर्मा । खेल क्षेत्रका लागि गाउँमा पर्याप्त भौतिक पुर्वाधार छैनन्,कहिले खेतमा त कहिले विद्यालयका प्राङगण,त कहिले कहि कतै पराकिलो स्थानमा आफ्ना खेलाडीहरुलाई खेलाउने गर्छन् उनी ।
उपयुक्त खेलमैदानको अभावले खेलाडीहरुलाई सहज रुपमा प्रशिक्षण गराउन नपाएको प्रशिक्षक विश्वकर्माले गुनासो गरे । आफ्नै खेलमैदान नभएपछि खेतबारी खाली हुदा त्यसमा खेल्छौ । कहिले विद्यालयको प्राङगणमा । “विद्यालयको प्राङगण पनि पर्याप्त छैन भलिवल खेल्ने खेलाडीहरु आउदा त हामी निस्किएर जानपर्छ”,उनले भने, “भौतिक पुर्वाधारको अभावले खेलाडीहरुलाई सोच अनुसार प्रशिक्षण दिन पाएको छैन् ।”

सानै उमेरमा गाउँघरमै बसेर खेल क्षेत्रतर्फ योगदान दिने प्रयास भैरहेको भएपनि विचविचमा आउने आर्थिक समस्या र खेल्नका लागि भौतिक अभाव लगाएतका समस्याले खेलाडीहरुको मनोवलमा ह्रास आउने गरेको उनले बताए । “हरेक टुर्नामेन्टहरुमा सहभागी हुदा पुरै खर्च खेलाडी स्वयमले वेहोनुपर्छ,पर्याप्त ईक्युप्मेन्टहरु छैनन् । सिक्नको लागि पर्याप्त ठाँउ छैन, अनि कस्तो खेलाडी उत्पादन गरेर हरेक प्रतियोगिताबाट उपाधीको आशा गर्ने ?,” उनले आक्रोश पोख्दै भने,“सिक्न आउने खेलाडीहरुको संख्या पनि दिनप्रतिदिन घट्दै गईरहेको छ ।”
खेल क्षेत्रको पुर्वाधार विकास र खेलाडीहरुको प्रोत्साहनका लागि स्थानिय सरकारले कुनै चासो नदिदा राम्रा खेलाडीहरुपनि विदेश पलायन भएका छन्,कोहि क्षेत्र तर्फ उन्मुख हुन बाध्य भएको उनले बताए । “गाउँपालिकाको कुनैपनि कार्यक्रमहरुमा खेल क्षेत्रलाई समेटिएन् । अर्काे पटक भन्दै टार्छ । पालिकाबाट अहिलेसम्म एक रुपैया पनि सहयोग मिलेको छैन,” उनले भने, “हाम्रो समस्या बर्षाैदेखि जहाँको त्यहि । पालिकाबाट खेल क्षेत्रको लागि नीतिगत सुधार र विकासका लागि नजर लगाउला भन्ने त आशा नै मरिसक्यो । ”
ग्रामिण क्षेत्रमा खेल क्षेत्रको महत्व र विकास गर्ने उदेश्यले २०६७ सालमा निसी रिभर आईटिएफ तेक्वान्दो दोजाङ स्थापना गरेर निसीखोलामा पहिलो पटक उक्त खेल प्रवेश भएको थियो । जसको श्रेय जान्छ धनेन्द्र घर्तीमगरलाई । पढाईको शिलसिलामा पाल्पामा रहदा घर्तीमगरले तेक्वान्दो सिकेका थिए ।
गाउँमा खेल भित्रिएपछिको करिव एक दशकमा करिव ५ सय भन्दा बढी खेलाडी उत्पादन भैसेका छन् । एक्लो प्रयासले निकै उत्साहका साथ संस्थापक घर्तीमगरले दोजाङ स्थापना गरेपछि सुरुवातका समयमा सक्षम खेलाडीहरु उत्पादन भएको सम्झन्छन् । तर खेल सामाग्रीको अभाव, आर्थिक समस्या र अभिभावकमा जनसचेतनाको कमि,स्थानिय सरकारको वेवास्ता लगाएतका कारण अहिले सोचे अनुसार खेलाडीको संख्या र खेल क्वालिटि निर्माण गर्न नसकिएको गुनासो गर्छन् उनी ।
“गाउँमा खेल भित्र्याउदा धेरै मेहनत गरियो । एक दशक पार गर्दासम्म स्थानिय सरकारले बेवास्ता गरिरहेको छ । यसको विकासका लागि एकल प्रयास मात्रै जारी छ,” उनले भने,“स्थानिय सरकारले तेक्वान्दो खेलको मात्रै होईन कुनैपनि खेलका लागि पुर्वाधार निर्माण र विकासमा चासो देखााएको छैन् । युवालाई खेल क्षेत्रमा आकर्षण गर्न सरकारले त्यस किसिमका बजेट र कार्यक्रमहरु ल्याउनुपर्छ ।”
के भन्छ स्थानिय सरकार ?
खेलाडी उत्पादनको उर्वर जिल्लाका रुपमा बागलुङ अग्रस्थानमा आउछ । त्यसमध्ये निसीखोला गाउँपालिका पनि जिल्लामा अगाडी नै आउछ तर त्यही खेल क्षेत्रको विकासका लागि स्थानिय सरकारले दिर्घकालिन रुपमा नीतिगत योजनाहरु बजेटका कार्यक्रममा समेट्न सकेको छैन् ।
वडा भित्र सार्वजनिक जग्गा नहुनु र अनुदानमा जग्गाहरु उपलब्ध नभएकोले वडाको सिमित बजेटले खेलपुर्वाधारहरु निर्माण गर्न नसकिएको वडा नं. ५ का वडाध्यक्ष हर्कमन घर्तीमगरले बताए । उनले केन्द्र सरकारबाटै खेल क्षेत्रको दिगो विकासका लागि बजेट विनियोजन नहुदासम्म स्थानिय सरकारको बजेटबाट सम्भव नभएको बताए ।
“वडा भित्र सार्वजनिक जग्गाहरु छैनन् । अनुदानमा उपलब्ध भएका छैनन् । हामीसंग साना आकारका बजेट छन् । त्यो बजेटले खेलमैदानहरु निर्माण गर्न पर्याप्त हुदैनन् । त्यसैले खेलकुद विकासका लागि हामी पछाडी परेका छौ” ,उनले भने, “यसको दिगो विकासका लागि केन्द्र सरकारबाटै बजेट विनियोजन भएर आउनुपर्छ ।”
निसीखोला गाउँपालिकाका प्रशासन प्रमुख दिलिप कुमार चन्दले खेलकुद विकासका लागि नीतिगत सुधार र दिगो विकासका लागि बिभिन्न योजनाहरु पलिकाले गरेपनि बजेटको अभाव रहेको सुनाए । गाउँपालिकाले आथिक वर्ष २०७९÷८० को बजेट नीति तथा कार्यक्रममा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि २ लाख छुटाइएको छ भने गाउँपालिका अध्यक्ष कपका लागि १ लाख ५० हजार,खेलकुद कार्यक्रम तथा सामाग्री खरिदका लागि २ लाख विनियोजन गरेको प्रमुख चन्दले बताए ।
प्रमुख चन्दले दिगो खेल विकासका कार्यक्रमलाई गाउँपालिकाको बजेटका शिर्षकमा समेट्न नसकिएपनि पालिका भित्र रहेका विभिन्न विद्याका खेलकुदका अवस्था र खेलाडीहरुको समस्याका लागि गाउँपालिकाले सधै अभिभावकत्व भुमिका निर्वाह गर्ने बताए ।
“खेल विकासका लागि केहि सिमित बजेट छुट्टाइएको छ । तर दिगो विकासका योजनाहरु भएपनि आर्थिक अभावका कारण असमथ्र्य भएका छौ ।,” उनले भने,“तर पालिका भित्र रहेका विभिन्न खेल विद्याका खेलाडीहरुको र खेलकुद क्षेत्रको सिमित समस्या समाधान गर्न स्थानिय सरकार प्रयासरत छ ।”
साथै उनले स्थानिय सरकार यस विषयमा संवेदनशिल रहेकोले कुनै खेल विद्याका खेलाडीहरुको समस्या भएमा लिखित रुपमा गाउँपालिकामा पेश गर्न सुझाव दिए ।
पालिका स्तरबाट आयोजना गरिएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगता आजबाट सुरु भएको छ । जसमा ९ वटा विद्यालयबाट विद्यार्थीहररु सहभागी भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका…





