जलविद्युत् आयोजनाको सहयोगमा क्लब भवन निर्माण


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७९ मा प्रकाशित




म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सहयोगमा क्लबको भवन निर्माण भएको छ । नौ दशमलव तीन मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाले उपलब्ध गराएको रु १० लाख सहयोगबाट बँसीगाउँमा अन्नपूर्ण युवा क्लबको भवन निर्माण भएको हो । आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो सहयोग गरेको थियो ।

भवनमा तला थप गरेर एक सय जना क्षमताको सभाहल र कार्यालय बनाइएको क्लबका अध्यक्ष टकबहादुर पुनले जानकारी दिए । भवन निर्माणपछि तालिम, बैठक, गोष्ठी सञ्चालन गर्न सहज भएको छ ।

भवनको बिहीबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ९खम्बिर० र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गरेका छन्। कार्यक्रममा सांसदद्वयले नारच्याङको पर्यटन विकासका योजना भित्र्याउन पहल गर्ने बताउँदै खेलकुद र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।

यसैगरी नारच्याङमा प्रथम अन्नपूर्ण युवा क्लब कप खेलकुद प्रतियोगिता पनि बिहीबारदेखि नै सुरु भएको छ । पाँच दिनसम्म खुला पुरुष, महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता हुने अध्यक्ष पुनले जानकारी दिए । पुरुष भलिबल र बास्केटबल प्रतियोगितामा विजेता र उपविजेतालाई कपसहित नगद रु एक लाख पाँच हजार पाँच सय ५५ र ६६ हजार छ सय ६६ प्रदान गरिने भएको छ ।

महिला भलिबलको विजेता र उपविजेतालाई कप, मेडल र प्रमाणपत्रसहित रु ५५ हजार पाँच सय ५५ र २३ हजार तीन सय ३३ नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । उद्घाटन कार्यक्रममा मूत्रथैलीको क्यान्सरका बिरामी मनकाजी गर्बुजालाई अतिथिहरूले रु १० हजार सहयोग गरेका थिए । घराम्दी घर भई हाल बेलायत रहेका धनबहादुर पाइजाले पठाएको रु १० हजार एसइ त्रियशनका सञ्चालक सुरेन गुरुङले गर्बुजालाई हस्तान्तरण गरे ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।