पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ हुने


     एभरेस्ट आवाज    
     माघ १८ गते २०७९ मा प्रकाशित




पोखरा, माघ १८

पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना हुने भएको छ । पोखरेली गायीकाहरुको साझा संस्था हार्मोनी (द मोडर्न सङ्ग्स्ट्रेसेस अफ पोखरा) र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा यहि माघ २२ गते पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ हुने भएको हो । स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवस माघ २२ गते पारेर कार्यक्रम गर्न लागिएको आयोजक मध्येको एक एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । यसअघि कालजयी गायीका तारादेवीको माघ ९ गते स्मृति दिवस परेपनि अरुणा लामाको स्मृति दिवसको दिन दुबैको स्मृतिमा कार्यक्रम गरिन लागेको उनको भनाई छ ।

नेपाली सांगीतिक क्षेत्रका हस्तीहरु अरुणा लामा र तारादेवीको स्मृतिमा उनीहरुलाई सांगितिक श्रद्दान्जली(ट्रिब्युट) दिने उद्देश्यले आयोजित स्मृति साँझ सिटीजन फर्निचर ट्रेड लिंक न्यूरोडको प्रस्तुतीमा हुने श्रेष्ठले जानकारी दिए । माघ २२ गते साँझ ५ बजेबाट कार्यक्रम शुरु हुने उनले बताए ।

यस वर्षदेखि शुरु गरिने अरुणा लामा–तारादेवी स्मृति साँझ अब हरेक वर्ष आयोजना गरिने जनाइएको छ । ‘कार्यक्रम अब हरेक वर्ष हुन्छ । यो त शुरुवात मात्रै हो’–उनले भने ।

कार्यक्रममा संगीत अन्वेषक साहित्यकार प्रकाश सायमीले श्रष्टाद्वयको स्मृति प्रबचन, हार्मोनीका गायिकाहरु इतु जोजिजु,शितल थापा, अजुदा थापा,रजनी ऋदम राई, लक्ष्मी गिरी,कौशिल्या गुरुड.,सानु जोजिजु,प्रिया गुरुड.,पिंगला भट्ट, देबीमाया गुरुड., उषा गुरुड. र रामभक्त जोजिजु,मिलन गुरुड.लगायत अग्रज तथा लोकप्रिय कलाकारहरुले अरुणा लामा तथा तारादेवीका आवाजमा सजिएका गीतहरु प्रस्तुत गरिने हार्मोनीका अध्यक्ष इतु जोजिजुले जानकारी दिइन् ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुने स्मृति साँझको सहयोगीका रुपमा रुपाकोट ज्योति सुनचाँदी पसल, कुटी रिसोर्ट र डिजिटल साउण्ड एण्ड भिजन रहेका छन् । त्यस्तै, हस्पिटालिटी पार्टनरमा थ्रि सिक्स्टी स्काई लाउञ्ज, साउण्ड पार्टनरमा एस.के.साउण्ड एण्ड लाईट, टेलिभिजन पार्टनरमा पब्लिक फोरके टेलिभिजन, अनलाईन पार्टनरमा एभरेस्ट आवाज डटकम र विज्ञापन पार्टनरमा परिचय एडभर्टाईजिङ रहेका छन् । कार्यक्रमको एभरेस्ट एफएम ९३ मेगाहर्ज, एभरेस्ट आवाज डट कम र पब्लिक फोरके टि.भि.बाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।