पोखरा, माघ १८
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको वर्गिकरण गरेको छ । क्यानले पुरुष र महिला दुबैतर्फ खेलाडीहरुको वर्गिकरण गरेको हो । क्यानको वर्गिकरणमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई घटुवा गरिएको छ । ए ग्रेडमा रहेका मल्ललाई बी ग्रेडमा झारिएको हो । खेलाडीको प्रदर्शनका आधारमा ग्रेड छुट्याईएको भनिएपनि उनलाई प्रतिशोधका कारण ग्रेड बि मा घटुवा गरिएको आशंका गरिएको छ । ग्रेड बी मा ज्ञानेन्द्रसँगै आरिफ शेख र कुशल भुर्तेल छन् । त्यस्तै, क्यानले ग्रेड ए मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेखलाई राखेको छ । ग्रेड सी मा कमल सिंह ऐरी, कुशल मल्ल, देव खनाल, सागर ढकाल, विवेक यादव, विनोद भण्डारी, गुल्सन कुमार झा, अर्जुन साउद र अविनाश बोहरा परेका छन् ।
त्यसैगरी महिला तर्फ ए ग्रेडमा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन् । ग्रेड बी मा काजेल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् भने ग्रेड सी मा कविना जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन् ।
संघले सन २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको लागि महिला तथा पुरुष खेलाडीहरुलाई वर्गिकरणको आधारमा करारमा राख्ने निर्णय समेत गरेको छ ।
सन्दीपको निलम्वन फुकुवा
क्यान बैठकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यानले सन्दीपमाथि गरेको तीन महिने निलम्वन फुकुवा गरेको हो । निलम्वन फुकुवासँगै सन्दीपले राष्ट्रिय टिमबाट क्रिकेट खेल्ने बाटो खुलेको छ । ‘हामीले गरेको निलम्वनको कारवाही फुकुवा गरेका छौं । अब राष्ट्रिय टिमबाट खेल्ने बाटो खुलेको छ । तर अदालतले खेल्न रोक लगायो भने खेल्न रोक हुन्छ’–उनले भने । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले संघले अनुशासनको तीन महिने निलम्वनको समय सकिएकाले उनीमाथि गरिएको कारवाही फुकुवा गरिएको बताए ।
यु–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तान गुल्सन झा
क्यान बैठकले नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तान गुल्सन झालाई बनाउने निर्णय गरेको छ ।
संघले बाग्लुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने निर्णय गरेको छ । साथै सो निर्णय अनुमोदनको लागि आगामी वार्षिक साधारणमा पेश गर्ने निर्णय बैठकले गरेको अध्यक्ष चन्दले जानकारी दिए ।
क्यानको अधिवेशन जेठमा
नेपाल क्रिकेट संघ (क्यान)को अधिवेशन आगामी जेठमा हुने भएको छ । पोखरामा बसेको क्यानको बैठकले अधिवेशन आगामी जेठ मसान्तभित्र अधिवेशन गर्ने निर्णय गरेको हो । क्यानको अधिवेशन अघि सातै प्रदेश र ७७ वटै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको अध्यक्ष चन्दले बताए । ‘जेठ मसान्तभित्रमा विशेष साधारण सभा आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने प्रस्तावलाई पारित गरेका छौं’–अध्यक्ष चन्दले भने । क्यानले–‘फागुनको १४ र १५ गते वार्षिक साधारणसभा कर्णालीको सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको छ ।
क्यानले सेभेन थ्री स्पोर्टस प्रालिसँगको सम्झौतालाई निरन्तरता दिन नसकिने अवस्थामा सृजना भएको बताएको छ । यसको निर्णयका लागि आगामी वार्षिक साधारण सभाबाट निर्णय गर्नका लागि प्रस्ताव पेश गर्ने निर्णय बैठकले गरेको अध्यक्ष चन्दले जानकारी दिए ।
क्यानले पूर्व प्रहरी नायब महानिरीक्षक ईश्वरबावु कार्कीको संयोजकत्वमा एन्टी करप्सन अफिसर रितेश थापा र थप एक जना सदस्य पछि मनोनयन गर्ने गरी तीन सदस्यीय क्यान इन्टीग्रिटी कमिटी गठन गरेको छ ।
क्यानले नेपाल टी–२० लिग आयोजना गर्न सेभेन थ्री स्पोर्टस सँग गरिएको सम्झौता एकपक्षीय रुपमा रद्द भएपनि सो कम्पनीसँग भएको सम्झौता अनुरुप पाउनुपर्ने रकम लिनका लागि कानूनी प्रक्रियामा जाने जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी बमोजिम स्पट फिक्सिङ कार्यमा संलग्न खेलाडी र व्यक्तिहरुको आरोप पुष्टि पश्चात आईसिसी र क्यानको कोर्ड अफ कन्डक्ट बमोजिम कारवाही अगाडि बढाउने निर्णय बैठकले गरेको अध्यक्ष चन्दले जानकारी दिए । नेपाल टी–२० का सम्बन्धमा एभरेष्ट प्रिमियर लिगका सञ्चालक आमिर अख्तर लगायतले नेपाल क्रिकेट संघ र संघका अध्यक्ष चतुरबहादुर चन्दबिरुद्ध सर्वोच्चमा दायर मुद्धा फिर्ता लिनका लागि आमिर अख्तर तथा ईपिएल लगायतका सबैलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।
राजिनामा माग्नु बेतुकको तर्क : चन्द
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहारदु चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नु बेतुकको तर्क भएको बताएका छन् । असन्तुष्ट ७ जनाले कार्य सम्पादन समितिको राजिनामा मागेको विषयमा सोधिएको प्रश्नमा उनले भने,‘राजीनामा बाहिर हल्ला गरेर माग्ने होईन् । साधारण सभामै आफना धारणा राखेर माग्ने हो ।’ अध्यक्ष चन्दले संघको विधान ३५(१)मा ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएपछि ३५ दिनभित्रमा विशेष साधारण सभा बोलाउने प्रावधान रहेकाले सो प्रक्रियामा छिरेर आए आफू साधारण सभा बोलाउन तयार रहेको बताए । उनले साधारण सभामा ५१ प्रतिशत पुगेको अवस्थामा पद छाड्ने बताए । ‘तर ७५ प्रतिशत सदस्यहरु मेरो पक्षमा छन् । मैले मेहनत गरेँ भने ९० प्रतिशतपनि पु¥याउन सक्छु’–उनले भने ।
कार्यसम्पादन समितिको सदस्यको राजीनामा मागले नेपाल क्रिकेट संघ निलम्बनतिर जाने खतरा भने रहेको अध्यक्ष चन्दले बताए । तर असन्तुष्ट पक्षको कुरा राखेपले नसुन्नेमा आफू आशावादी रहेको उनको भनाई थियो । ‘असन्तुष्ट भनिएका निकम्मा ७ जनाको पछि राखेप लाग्दैन भन्नेमा म विश्वस्त छु । तर राखेपले दुर्भाग्यपूर्ण निर्णय ग¥यो भने त क्यान खारेजीको दिशामा जान्छ’–उनले भने ।
यसैबीच, संघका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले कार्यबाहक सचिवबाट दिएको राजिनामा बैठकले स्वीकृत गरेको छ । मल्लको ठाउँमा दुर्गाराज पाठकलाई कार्यबाहक सचिवको जिम्मेवारी बैठकले तोकेको छ । कार्यवाहक सचिवबाट राजिनामा दिएका मल्लले आफु पछि हटेर निकास निस्कन्छ भने निकास दिनुपर्छ भन्ने सकारात्मक सोंच राखेर राजिनामा दिएको बताए । ‘क्षमता र ईच्छा हुँदाहुँदैपनि समस्याले निकास पाओस् भनेरमात्र राजिनामा दिएको हुँ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







