प्रतिभा माविमा सिमसार सम्बन्धी चित्रकला प्रदर्शनी


     एभरेस्ट आवाज    
     माघ १९ गते २०७९ मा प्रकाशित




पोखरा, माघ १९
विश्व सिमसार दिवसको अवसर पारेर यहाँस्थित प्रतिभा माध्यमिक विद्यालयमा एकदिने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । विद्यालयको आयोजनमा भएको उक्त प्रदर्शनीमा विद्यार्थीले सिमसार क्षेत्रबारे केन्द्रीत रहेर कोरेका चित्र प्रदर्शनमा राखिएको थियो । विद्यार्थीले सिमसार क्षेत्र र यसको संरक्षणबारे जानकारी दिने गरि चित्र कोरेका थिए । त्यसबाहेक प्रदर्शनमा नमूना सिमसार क्षेत्रको पनि प्रदर्शनी गरिएको थियो ।
विद्यालयमा कक्षा ११ मा अध्ययनरत विज्ञान संकायतर्फका जीव विज्ञान विषयका विद्यार्थीले सिमसार क्षेत्र र यसको महत्व बारे चित्र कोरेका थिए । विद्यार्थीले कोरेको चित्र विद्यालय परिसरमा प्रदर्शनमा राखिएको थियो । सबैगरि ५४ वटा चित्र प्रदर्शनमा राखिएको प्रतिभा माविका जीव विज्ञान विषयका शिक्षक हेमन्त ढकालले बताए । उनका अनुसार सिमसार र संरक्षणको अवस्थाबारे विद्यार्थीलाई जानकारी दिलाउन आवश्यक भएकोले प्रदर्शनमा राखिएको हो ।
‘पछिल्लो पुस्तालाई सिमसारको महत्व र संरक्षणबारे उत्तिसारो ज्ञान छैन । सिमसार क्षेत्रको महत्वबारे भावि पुस्ताले पनि थाहा पाउनुपर्छ,’ उनले भने, ‘सिमसार पूर्नस्थापनामा अबको पुस्ताको भूमिका रहनेछ ।’ सिमसार संरक्षणका लागि मानव समुदायका हरेक गतिविधि प्रकृतिप्रेमी बन्नुपर्ने ढकालले बताए । हरेकवर्ष फेबुअरी २ तारिखमा विश्व सिमसार दिवस मनाइन्छ । यो वर्षको सिमसार दिवसको नारा ‘आजको आवश्यकताः सिमसारको पुर्नस्थापना’ रहेको छ ।
कार्यक्रमको प्रमुख अतिति विद्यालयका प्राचार्य किरण सापकोटाले उद्घाटन गरेका थिए । सापकोटाले सिमसारका क्षेत्रमा देखिएका समस्याले गर्दा सबैतिर चिन्ता छाइरहेको बताए । ‘सिमसार क्षेत्र प्रति संवेदनशील हुने बेला भएको छ । सिमसार क्षेत्रेको महत्व बुुझाउन नसक्दा सबैतिरबाट अतिक्रमण भईरहेको छ,’ उनले भने, ‘सिमसारप्रति मानवको घनिष्ट सम्बन्ध रहेकोले यसको संरक्षण गर्न आवश्यक छ ।’ प्रतिभा माविले सिमसार दिवसको अवसर पारेर पहिलो पटक यो कार्यक्रम आयोजना गरेको र आगामि दिनमा पनि यस्ता गतिविधिलाई प्राथमिकता दिँदै जाने सापकोटाले बताए ।
कार्यक्रममा सिमसार क्षेत्रको इतिहासको बारेमा कक्षा ११ का प्रतिक ढकाल र सिमसार क्षेत्रको महत्वको बारेमा कविन्द्र आचार्यले प्रस्तुती राखेका थिए । कार्यक्रम कक्षा ११ का जीव विज्ञान समुहका विद्यार्थीले नै संयोजन गरेका थिए । कार्यक्रमको सभापतित्व सिद्धान्त खनालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।