लोकतान्त्रिक अभ्यास गरौँ : अध्यक्ष ओली


     एभरेस्ट आवाज    
     माघ २२ गते २०७९ मा प्रकाशित




काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ र जस्तोसुकै विधि अपनाएर सत्तामा पुग्ने खेलले लोकतन्त्रलाई सुदृढ तुल्याउन नसक्ने बताए । उनले भने, “सत्ताका लागि नभइ सुशासन, भ्रष्टचार न्यूनीकरणका लागि साझा सहमति कायम गर्न सकिन्छ ।”

बहस र तर्कले जनताको पेट नभरिने र उद्योग पनि नफस्टाउने भन्दै उनले भने, “कहिले देश र जनताप्रति इमान्दार भएर राजनीति गर्ने रु” बदलिँदो अवस्थामा राजनीतिक दल र सरकार नयाँ ढङ्गले अघि बढनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले राजनीति स्थिर भएन भने नागरिक र लोकतन्त्रमा असरपर्ने धारणा राखे।

वर्तमान सरकारलाई आफूहरुले पूर्ण र रचनात्मक सहयोग गर्ने उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वका लागि अपिल गरे । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशको विकास र समृद्धिमा खेलेको भूमिका र प्राप्त उपलब्धिबारे जानकारी गराउँदै कमजोर बन्दै गएको आर्थिक अवस्था उकास्न गठबन्धनको सरकारले भूमिका खेल्ने बताए ।

“वर्तमान सरकारले अर्थतन्त्रलाई तत्काल सही दिशामा अघि बढाउँछ । अर्थतन्त्रको समस्या, स्टे«स र अर्थतन्त्रमाथिको दबाबलाई सम्बोधन गर्न कदम चाल्न सुरु भइसकेको छ,” उनले बताए । अध्यक्ष ओलीले आगामी १० वर्षमा समृद्ध नेपाल सुखी नेपालीको माध्यमबाट विकसित मुलुकको सूचीमा स्तरोन्नति गर्ने दाबी गरे।

यसअघि अध्यक्ष ओलीले गठबन्धनको सरकारको साझा न्यूनतम कार्यक्रमबारे चर्चा गरिरहँदा नेपाली कांगे्रसका सांसद रामहरि खतिवडाले संसद्मा प्रवेशनै नपाएको कार्यक्रमबारे बैठकमा भनाइ राख्न नमिल्ने भनि आपत्ति जनाएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।