पोखरामा ‘बिटी कप’ सुरु, उद्घाटन खेलमा हाम्रो एफसी विजयी


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित




कास्की । पोखरामा बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आज (आइबार) देखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलबाट हाम्रो एफसीले विजयी सुरुवात गरेको छ । डाडाँगाउँ एफसीलाई टाइबेकरमार्फत ४–३ गोल अन्तरले पराजित गर्दै हाम्रो एफसी दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक बिनोद गुरुङले जानकारी दिए । उनका अनुसार खेल १–१ गोलको बराबरी भएपछि खेल टाइबेकरमा पुगेको थियो ।

यस्तै दोस्रो खेलमा एम फाइभ मालेपाटनले सराङकोट एफसीलाई २–० को गोल अन्तरले पराजित गर्याे । एम फाइभको जीतमा आयुष थापाले २ गोलको योगदान दिए । खेल संयोजक गुरुङका अनुसार भोली (सोमबार) पहिलो चरणकै ८ वटा खेल हुनेछ ।

सो प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले खेलकुदको विकासका लागि आफुले पहल गर्ने धारणा राखे । आफु विगत २१ वर्षदेखि खेलकुदमा काम गर्दै आएको उल्लेख गर्दै पोखरालाई खेलकुदको केन्द्र बनाउने पक्षमा सदनमा प्रतिबद्ध रहने बताए ।

प्रदेश सांसद बरालले खेलकुदको विकासका लागि आफु सधै सकारात्मक रहेको बताउदै सोही अनुसार सदनमा प्रस्तुत हुने बताएका थिए । आगामी फागुन २ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६÷६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ ।

प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।