पोखरा म्याराथनलाई वडा नं. १२ का वडावासीले सघाउने


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित




माघ २३ पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सफल बनाउने बिषयमा नेपाल भूतपूर्व खेलाडी मञ्चले शुक्रबार वडा नं. १२ का वडावासीहरू सँग छलफल गरेको छ ।

नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते पोखरामा आयोजना हुने १७ औं संस्करणकोे प्रतियोगितलाई सफल पार्न मञ्चले महानगरपालिकाका विभिन्न वडावासीहरू संग छलफल गर्दै आइरहेको छ ।

मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले आ–आफ्नो घर नजिक स्वागतद्धार, व्यानर र घडाले खेलाडीहरूलाई स्वागत गरी उनिहरूको मनोवल बढाउन टोल विकास संस्थाका पदाधिकारीलाई आग्रह गरे । म्याराथन सिटीको पहिचान भएकाले पोखरा महानगरले यसको अपनत्व लिनुपर्ने बताए । उनले खुला म्याराथन, हाफ म्याराथनको रूटबारे जानकारी गराएका थिए ।

वडा अध्यक्ष सन्तोष बास्तोलाले प्रतियोतिलाई सफल पार्न वडाको तर्फवाट पूर्णरूपमा सहयोगको प्रतिबद्धता जनाए ।

कार्यक्रममा वडा सदस्य शन्तबहादुर थापा, नेपाली कांग्रेसका क्षेत्रिय सभापति कृष्णप्रसाद कोइराला, जय टोल विकास संस्थाका अध्यक्ष इन्दिरा पन्त, शान्तिपथ टोल विकास संस्थाका सचिव अनुराग अधिकारी लगायतले बोलेका थिए ।

कार्यक्रममा खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलोमिटर हाफ म्याराथन महिला प्रतियोगिता हुने छ ।

महिला/पुरुष १० किमि दौड, विद्यालय स्तरीय छात्र/छात्रा ५ किमि, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड र ‘रन फर फन’ समेत आयोजना हुने छ ।

खुला म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।