लिगल निवास चिप्लेढुंगामा भोलि शनिबार बाह्र भैरव नाच प्रदर्शन गरिदै


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७९ मा प्रकाशित




पोखरा, माघ २७

पोखराको चिप्लेढुंगास्थित लिगल निवासमा भोलि शनिबार ऐतिहासिक बाह्र भैरव नाच प्रस्तुत गरिने भएको छ । चिप्लेढुंगा निवासी गोकर्णलाल लिगलको बोलावटमा उनको निवास तथा लिगल सपिङ सेन्टरको परिसरमा बाह्र भैरव नाच प्रस्तुत गरिन लागेको हो । नाच शनिबार साँझ ६ बजेदेखि शुरु हुने छोरा प्रमोद लिगलले जानकारी दिए ।
भैरव सांस्कृतिक संरक्षण समितिको आयोजनामा हरेक ६÷६ वर्षमा पोखरामा आयोजना हुँदै आएको तान्त्रिक भैरव नाच लिगल परिवारको बोलावटमा हरेक पटक नचाईने गरिएको छ । यसअघि ६ वर्षअघिपनि लिगल परिवारको बोलावटमा लिगल निवासमा भैरव नाच प्रस्त’त गरिएको थियो ।

६÷६ वर्षमा हुने भैरब नाच यस वर्ष भैरब गत मंसिर १५ गतेदेखि प्रदर्शन शुरु गरिएको थियो । शुरुमा देवालयहरुमा र त्यसपछि टोल तथा व्यक्तिहरुकोमा भैरव नाच प्रदर्शन गर्न शुरु गरिएको हो । समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गका अनुसार भिमसेन मन्दिर भिमसेनटोलमा शुरु भैरवनाच मंसिर १६ गते गणेश मन्दिर गणेशटोल, १७ गते सरस्वती मन्दिर तेर्सापट्टी, १८ गते विन्ध्यवासिनी मन्दिर, १९ गते गणेश मन्दिर भैरवटोल र २२ गते गुरुको सम्मानमा नृत्य गुरु कृष्णदेव प्रधानाङ्गको निवास भैरवटोलमा नृत्य प्रदर्शन गरिसकिएको छ ।

भैरव नाच भक्तपुरबाट शुरु भएको हो । पोखरामा भने २५० वर्षअघि पोखराका नेवार समुदायले भित्राएको बताईन्छ । शुरुमा १२÷१२ वर्षमा प्रदर्शन गरिने भैरव नाच २०२९ सालदेखि भने ६÷६ वर्षको अन्तरालमा प्रदर्शन हुँदै आएको छ

भैरव नाचमा काल भैरव, महाकाली, ईन्द्रायणी, वाराही, कौमारी, विष्णुवी, व्रम्हायणी, गंगा, गणेश, दागिनी, भूःत्चा र कवाङको रुप धारणगरी शास्त्रीय भजनमा नृत्य गरिन्छ । यो नृत्य नेवारी भाषाका भजन र अनरतीको गायनमा आधारित भएर कौशिक, छयानट, मालवा, सारंगा, तोडी, मालश्री लगायतको रागहरु तथा खरजति, एक ताल र दोमा तालमा आधारित नर्तकहरूले नृत्य गर्ने गर्दछन् । मृदङ्गा(खि) झ्याली, ताः, धा, सहनाइ, मुहालीको वादनका माध्यमबाट संगीत सिर्जना गरिने यस नृत्यमा सामान्यतथा १२ नर्तक, ३० गायक, १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा नृत्य कलाकार, १० स्वयम् सेवक तथा अन्य व्यवस्थापनका लागि २० जना गरि १०६ जना सहभागि हुने गर्दछन् ।

पोखरामा भैरव नाच लामो समय वरिष्ठ संस्कृतिकर्मी स्व.सर्वज्ञमान प्रधानाङ्ग र त्यसपछि स्व. कृष्णबहादुर वैद्यले गुरुको भूमिका निर्वाह गर्दै आएका थिए भने यस वर्षदेखि भैरव नाचका गुरु कृष्णदेव प्रधानाङ्गले प्रमुख गुरु र मेघवहादुर ताम्राकारले उपगुरुको रुपमा नृत्य प्रशिक्षण गराएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।