पोखरा, माघ २८
पोखराको ऐतिहासिक तथा धार्मिक तीर्थ स्थल हरिहर गुफा सन्यास आश्रम चिनाउन वृत्तचित्र निर्माण गरिएको छ । ओझेलमा परेको पोखरा–२० भलामस्थित आश्रमको प्रचारप्रसार गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको हो । हरिहर सन्यास आश्रमको व्यवस्थापन तथा स्थानिय समाजसेवी दीनेश बस्नेतको पहलमा निर्माण गरिएको सो वृत्तचित्रको गण्डकी प्रदेशका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री पञ्चराम तमुले लोकार्पण गरे ।

आश्रमको भौगोलिक अवस्थिति, त्यहाँको वातावरण, आश्रमको ऐतिहासिकतासँगै धार्मिक महत्वलगायत समेटेर वृत्तचित्र निर्माण गरिएको वृत्तचित्र निर्माणकर्ता दीनेश बस्नेतले जानकारी दिए । समुन्द्री सतहदेखि १ हजार ३ सय मिटर उचाईमा रहेको यो आश्रम १८ औं शताब्दीमै स्थापना भएको अनुमान गरिएपनि औपचारिक लिखत भने वि.स. १९०६ बैशाख शुक्ल (गंगा) सप्तमीमा श्री ३ जंगबहादुर राणाले सनद पत्र जारी गर्दाको मात्रै भेटिएको छ ।
अन्नपूर्ण हिमश्रृंखलाका साथै पोखरा शहरका अधिकांश भाग दृश्यावलोकन गर्न सकिने आश्रम प्राकृतिक हिसाबले मनोरम र रमणीय छ । पोखराबाट करीब आठ किलोमिटर नजिक रहेको यहाँ तीजको श्रीपञ्चमी, हनुमान जयन्ती, शिवरात्री र बालाचतुरदशीका दिन भक्तजनहरुको भीड लाग्ने गर्दछ । बाला चतुरदशीमा त यहाँ सत्बिज छर्नेको घुँईंचो लाग्ने गर्दछ ।
ऐतिहासिक, धार्मिक र प्राकृतिक सबै हिसाबबाट महत्व बोकेको आश्रम प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले आश्रमको प्रचार प्रसार गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको निर्माणकर्ता बस्नेतको भनाई छ ।
मन्दिरका पीठाधिस अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले हरिहर सन्यास आश्रम तपस्वीहरुको तपोभूमिको बताए । उनले भने,‘जल प्रदुषण, वायु प्रदुषण, मोटर प्रदुषणबाट मुक्त यो आश्रम साधु, सन्त, महात्माहरुले तपस्या गर्ने तपस्वीहरुको तपोभूमि हो । आध्यात्मिक चिन्तका लागि उपयुक्त यो आश्रममा तपस्वीहरुले ध्यान गर्ने गुफापनि छ ।’
गण्डकी प्रदेशका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री पञ्चराम तमुले पोखराको नजिक भएरपनि ओझेलमा परेको आश्रमको विकास र बिस्तारका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।
आश्रमका कोषाध्यक्ष रामजीप्रसाद पौडेलले सहयोग संकलन गरेर वृत्तचित्र निर्माण गरिएको जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







