ईन्टरनेट सेवा प्रदायकहरुलाई सेवा गुणस्तर बनाउन सरोकारवालाहरुको सुझाव


     एभरेस्ट आवाज    
     फागुन १ गते २०७९ मा प्रकाशित




पोखरा, फागुन १

ईन्टरनेट सेवा प्रदायकहरुलाई सरोकारवालाहरुले सेल्सपछिको सेवा गुणस्तरीय बनाउन सुझाव दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पोखरामा सोमबार आयोजना गरेको ‘अनुमती पत्रका शर्तहरुका सम्बन्धमा ईन्टरनेट प्रदायकहरुसँग छलफल कार्यक्रम’को उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले सेल्सपछिको सेवालाई गुणस्तरीय बनाउन सुझाव दिएका हुन् ।

ईन्टरनेट सेवा प्रदायकहरुले सेवा बिस्तार गर्ने तर शर्तअनुसारको सेवा नदिने, गुणस्तरमा ध्यान नदिदा सेवाग्राही समस्यामा पर्नेगरेको गुनासो गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले ईन्टरनेट सेवा प्रदायक संस्थाहरुले भन्ने एउटा र गर्ने अर्कै गर्दा सेवाग्राही ठगिनेगरेको बताए । ईन्टरनेट मौलिक अधिकारजस्तो भइसकेको बताउँदै उनले भने,‘तर सेवा प्रदायकहरुले सेल्सपछिको सेवामा ध्यान दिएन । जसले गर्दा सेवाग्राही ठगिरहेका छन् ।’

उनले सेवाग्राहीले सेवा वापतको रकम तिरिसकेपछि सो रकम बराबरको समय र गुणस्तरीय सेवा पाउनुपर्ने बताए । ‘अनुमति लिनेबेला शर्त मान्ने अनि सेवा दिने बेलामा शर्त पालना नगर्ने ? यो स्वीकार्य हुँदैन’–उनले भने । उनले ईन्टरनेट सेवा प्रदायकहरुले तार अस्तव्यस्त छाड्दा सहर कुरुप भएकाले अब त्यस्ता अव्यवस्थित तार काट्ने चेतावनी दिए ।

‘सहरका ८० प्रतिशत तार अव्यवस्थित छन् । ती अव्यवस्थित तार आफै ब्यबस्थापन गर्नूस् । होईन भने हामी काटिदिन्छौं’–उनले भने । अब मुख्य सहरका तारहरु अन्डरग्राउण्ड गरिने बताउँदै उनले त्यसका लागि टेण्डरको प्रक्रियामा जाने तयारीमा रहेको जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले सेवा प्रदायक संघसंस्थाबीच समन्वय नहुँदा सेवाग्राही समस्यामा पर्नेगरेको बताए । सेवाको अनुमति लिँदा सेवा शर्त पालना गर्छु भनिसकेपछि सेवा प्रदायकले त्यो शर्त पालना गर्नैपर्नेमा उनले जोड दिए । ‘सेवाग्राहीलाई ध्यानमा राखेर गुणस्तरीय सेवा प्रदान गर्नूस् । त्यसो भयो भनेमात्र सेवाग्राही खुशी हुन्छ र तपाईंहरुको व्यवसायपनि फस्टाउँछ’–उनले भने ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले ईन्टरनेट सेवा प्रदायकहरुले सेवा बिस्तार गर्ने तर गुणस्तरमा ध्यान नदिने गर्दा सेवाग्राहीले शुल्क अनुसारको सेवा नपाउने, धेरै पैसा काटिने, बारम्बार डिसकनेक्ट हुनेलगायतका समस्या झेल्नुपरेको बताए । ‘कमजोर पूर्वाधार, विशेषज्ञ प्राविधिक नहुनु, भएका प्राविधिकहरुलाईपनि प्रभावकारी प्रयोग नगर्नु, जानीजानी एमविपिएस घटाईदिनेलगायतका कारण सेवा गुणस्तरीय भएन’–उनले भने ।

पूर्व सचिव बाबुराम आचार्यले कसको क्षेत्र कहाँ हो ? त्यसको क्षमता कति हो ? कस्तो सेवा दिने हो ? त्यसको मापन गर्नसक्ने संयन्त्र नहुँदा सेवाग्राही भ्रामक विज्ञापनका भरमा सेवा लिन बाध्य भएको बताए । नेपाल पत्रकार महासंघ कास्की शाखाका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले गुणस्तरीय सेवा दिन कञ्जुस्याईं नगर्न आग्रह गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले गुणस्तरीय सेवा दिने, सेवालाई सहरमात्र केन्द्रीत नगरी ग्रामिण क्षेत्रसम्म पु¥याउने, सेवा प्रदायकहरुबीच स्वस्थ प्रतिष्पर्धा गर्ने, रकम अनुसारको गुणस्तरीय सेवा दिनेलगायतका शर्तहरु पालना गर्ने भनेर कबूल गरेर पछि त्यस अनुसारको सेवा नदिनू बेईमानी हुने बताए । उनले शर्त अनुसारको सेवा दिने वातावरण निर्माणका लागि प्राधिकरणले भूमिका खलिरहेको बताए ।

प्राधिकरणका उपनिर्देशक सुनिता पाण्डेले नेपालमा तीन वटा कम्पनीले भ्वाईस अप्रेटर र १३० वटा कम्पनीले ईन्टरनेट सेवा प्रदान गरिरहेको जानकारी दिईन् । उनले अनुमति लिँदा सेवा शर्तहरु मान्छु भनेर ईजाजत लिने तर पछि त्यो सेवा शर्तहरु के के थिए भन्ने भेउ नपाउने वा कार्यान्वयनमा बेवास्ता गर्ने काम भइरहेकाले सेवा प्रदायकहरुलाई जिम्मेवार बनाउने अभियान स्वरुप गण्डकी प्रदेशको पोखरामा कार्यक्रम गरिएको बताईन् । उनका अनुसार यस्ता कार्यक्रम देशका सातै प्रदेशमा आयोजना गरिनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।