पोखरामा पनि मनाईयो जनयुद्ध दिवस


     एभरेस्ट आवाज    
     फागुन १ गते २०७९ मा प्रकाशित




पोखरा, फागुन १

पोखरामा पनि जनयुद्ध दिवस मनाईएको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिको आयोजनामा सोमबार पोखरामा २८ औं जनयुद्ध दिवस मनाइएको हो । कार्यक्रममा आपसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री एवम् नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले संघीयता र गणतन्त्रमाथि चुनौति देखापरेको बताएका छन् । देशमा गणतन्त्र र संघीयता विरोधी शक्ति सकृय भएको आरोप लगाउँदै उनले भने,‘तिनै गणतन्त्र र संघीयता विरोधी शक्तिलाई लिएर सरकार चलाउनुपरेको छ । यो निकै चुनौतिपूर्ण छ ।’

मन्त्री चुमानले माओवादी घटकहरु एकजुट भएमात्र अहिलेको चुनौति सामना गर्नसक्ने बताए । चुनौति सामना गर्न सक्छौं,उनले भने,‘तर हिजो जनयुद्ध लडेका माओवादी घटकहरु एकजुट हुनुपर्छ । योबाहेक दायाँबायाँ गर्नुहुन्छ । यसो गरियो भनेमात्र महान जनयुद्ध र त्यसले स्थापित गरेका मान्यताहरु जोगाउन सक्छौं ।’

मन्त्री चुमानले जनयुद्ध दिवसको अवसरमा जनयुद्धमा सहिद, वेपत्ता, घाईते, अपाङ्गता भएकाहरुको परिवारलाई भेटेर उनीहरुको कुरा सुन्ने, समस्या समाधान गर्नेलगायतका कार्य गर्न पार्टी पंक्तिलाई निर्देशनपनि दिए ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिका अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले जनयुद्धको सपना पूरा गर्न आजपनि लाग्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले हिजोको माओवादी शक्ति विभिन्न शक्तिमा विभाजित हुने, आदर्शहरु त्याग्ने, एजेण्डाहरु त्याग्नेलगायतका कार्य गर्दा माओवादी कार्यकर्ता र समर्थकहरुले कमजोर महशुष गरेको बताउँदै अबको सरकारले त्यसलाई सम्बोधन गरेर उनीहरुमा उर्जा भर्ने विश्वास व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।