तनहुँ । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण मानिने भजन लोप हुने अवस्थामा छ । विभिन्न पर्वमा गाइने कतिपय भजन लोपोन्मुख अवस्थामा पुगेको छ ।
भजन लोप हुन लागेकाले संरक्षण गर्न भजन प्रतियोगिता गर्न लागिएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा धार्मिकस्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता गरिने भएको हो ।
भजनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए। “भजनको संरक्षणका लागि प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको हो”, उनले भने।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५१ हजार, द्वितीय हुनेलाई रु ३६ हजार, तृतीय हुनेलाई रु २१ हजार र सान्त्वनालाई रु पाँच हजार एक सय तथा प्रमाणपत्र प्रदान गरिने लम्सालले बताए ।
महाशिवरात्रि पर्वका अवसरमा सामूहिक व्रतबन्ध, अखण्ड दीप प्रज्वलन, शिवध्वनि पुजन र विविध धार्मिक अनुष्ठान कार्यक्रमसमेत गरिने आयोजकले जनाएको छ । साथै सोही दिन वरिष्ठ लोकदोहोरी तथा भजन गायक पुरुषोत्तम न्यौपाने र लोकदोहोरी गायिका शान्ति डोटेलको साङ्गीतिक प्रस्तुति रहनेछ ।
धार्मिकस्थलका रुपमा विकास भएको च्यवनधाम परिसरमा एक सय आठ धारा, एक सय आठ शिवलिङ्ग, एक सय आठ वरपीपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थानलगायतका संरचना रहेका छन् । शिवरात्रि, साउने सोमबार, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायतका पर्वमा यहाँ भक्तजनको आवागमन हुने गर्दछ । यहाँ मुक्तिनाथको शैलीमा मन्दिर निर्माण गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







