स्याङ्जाको कोखे बाहुँमा मगर भाषा प्रवद्र्धन यात्रा


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०७९ मा प्रकाशित




स्याङ्जा । मगर भाषा प्रतिष्ठान, कास्कीको आयोजनामा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं. ४, ओरष्टे, कोखे बाहुँमा मगर भाषा प्रवद्र्धन यात्रा सम्पन्न भएको छ ।

२४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेब्रुअरी)को पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा मगर भाषाको विषय अध्यापन भइरहेको जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्यालयमा “मातृभाषामा शिक्षा ः अवसर र चुनौती” विषयक अन्तरक्रिया समेत सम्पन्न गरिएको छ ।

९९ प्रतिशत मगर समुदायका बालबालिका अध्ययनरत सो विद्यालयमा २०७३ सालदेखि मगर भाषाको पठनपाठन सुरु गरिएको शिक्षक लेखबहादुर आलेमगरले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बिरुवा गाउँपालिकाकी उपाध्यक्ष भगवती शर्माले विद्यालयमा मगर भाषाको पठनपाठनको निरन्तरताका लागि पालिकाले सक्दो सहयोग गर्ने वचन दिए ।

मातृभाषाको शिक्षासम्बन्धी पालिकास्तरीय कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उपाध्यक्ष शर्माले पालिकाका मातृभाषी बाहुल्य विद्यालयमा यस विषयलाई अघि बढाउन सकिने धारणा व्यक्त गरे । अभिभावकले चाहेमा मातृभाषाको पठनपाठनलाई सहयोग गर्न पालिका तयार रहेको भन्दै उनले संविधानले दिएको हकअधिकार प्रयोग गर्ने कुरामा पछि नहट्न समेत आग्रह गरे ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं भाषा, साहित्य तथा दर्शन विभाग प्रमुख कृष्णप्रसाद पौडेलले बालबालिकाका अभिभावकलाई मातृभाषाको शिक्षाको महत्वबारे बुझाउनुपर्ने आवश्यकता औंल्याए । मगर भाषाको विकासका लागि समुदायले पहिलो चासो दिनुपर्नेमा जोड दिँदै उनले राज्यका निकायले पनि उत्तिकै ध्यान दिनुपर्ने बताए ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानले गण्डकी प्रदेशमा बोलिने मातृभाषाको संरक्षण र विकासका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको भन्दै प्राज्ञ पौडेलले मातृभाषा प्रशिक्षण र पठनपाठनका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्ने भनाइ राखे ।

नेपाल मगर संघका केन्द्रीय सहकोषाध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषा बचाउनका लागि जान्नेले भाषा बोल्नुपर्ने भन्दै बोल्न नजान्नेले सिक्नुपर्ने आवश्यकता औंल्याए । मगर भाषा मगर जातिको पहिचान भएको भन्दै उनले मातृभाषालाई लोप हुनबाट जोगाउन समुदायले नै विशेष चासो दिनुपर्ने बेला आएको बताए ।

तीनै तहका सरकारले मातृभाषाको संरक्षण र विकासका लागि आवश्यक योजना निर्माण र बजेटको व्यवस्था गर्नुपर्नेमा समेत उनले जोड दिए । ९९ प्रतिशत मगर जातिको बसोबास रहेको सो ठाउँमा मगर भाषा भने नबोलिने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जानकी थापामगरले जानकारी दिए ।

अध्यक्ष थापामगरका अनुसार सो विद्यालयमा ३१ जना मगर समुदायका बालबालिका अध्ययनरत छन् । कक्षा पाँच सम्म अध्यापन हुने सो विद्यालयमा मगर भाषाको विषय पठनपाठनका लागि विशेष भूमिका निर्वाह गरेको भन्दै शिक्षक लेखबहादुर आलेमगरलाई कार्यक्रममा मगर भाषा प्रतिष्ठान कास्कीले सम्मान गरेको थियो ।

त्यस्तै, विद्यार्थीहरूलाई मगर भाषा प्रतिष्ठान कास्की र गण्डकी प्रज्ञा–प्रतिष्ठानको तर्फबाट स्टेशनरी समेत वितरण गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।